काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनीले साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा यही भदौ १९ गते मंगलबारबाट आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयरको बिक्री खुला गरेको हो ।
कम्पनीले जारी पुँजी एक अर्ब ९१ करोड २५ लाख रुपैयाँमध्येबाट १० प्रतिशतका दरले हुन आउने १९ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिसेयर एक सय रुपैयाँ दरका १९ लाख १२ हजार पाँच सय कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको हो । कम्पनीका अनुसार यो सेयर खरिदका लागि कास्की जिल्लाका माछापुच्छ्रे गाउँपालिकाको वडा नं. १, २, ३, ४ र पोखरा महानगरपालिका वडा नं. १९ का स्थानीय बासिन्दाले आवेदन दिन सक्ने छन् । यसैगरी सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको कुल सेयरको १० प्रतिशत अर्थात् एक करोड ९१ लाख २५ हजार रुपैयाँ बराबरको प्रतिसेयर एक सय रुपैयाँ अंकित दरका एक लाख ९१ हजार दुई सय ५० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीका लागि निष्काशन गरेको हो । लगानीकर्तामध्ये आयोजना प्रभावितहरूको हकमा न्यूनतम १० देखि अधिकतम तीन लाख ८० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेकाको हकमा न्यूनतम १० देखि अधिकतम १९ हजार एक सय २० कित्तासम्मको खरिद सीमा तोकिएको छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । बिक्री खुला गरिएको साधारण सेयरमध्ये आयोजना प्रभावित क्षेत्रको हकमा यही भदौ १९ गतेबाट खुला भएको साधारण सेयरको बिक्री कार्य छिटोमा असोज दुई गते र ढिलोमा असोज १७ गते बन्द हुनेछ । यसैगरी वैदेशिक रोजगारीमा रहेकाको हकमा भने यही भदौ १९ गतेबाट खुला हुने साधारण सेयरको बिक्री कार्य असोज दुई गतेसम्म कायम रहनेछ ।