काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र भीजी इम्पेक्स प्रालि (जीडब्लुएम नेपाल) बीच सम्झौता भएको छ । बैंकका अनुसार ग्राहकलाई सहुलियत ब्याजदरमा विद्युतीय तथा इन्धनमा आधारित सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार बैंकले भीजी इम्पेक्स प्रालि तथा उक्त कम्पनीका आधिकारिक विक्रेताले विक्री गर्ने इन्धनमा आधारित ह्याभल ब्राण्डका एसयुभी, पावर ब्राण्डका पिकअप तथा ओआरए ब्राण्डका विद्युतीय सवारी खरिद गर्न चाहने नेपाली नागरिकले आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिएपश्चात् तीन कार्यदिनभित्र बैंकले नियमानुसार उचित ठह-याएका ग्राहकलाई सहजरूपमा सवारी कर्जा प्रवाह गर्नेछ । उक्त समझदारी पत्रमा बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रुपेन्द्र वाग्ले र भीजी इम्पेक्स प्रालिका उपाध्यक्ष रुपेश शर्मा भट्टले हस्ताक्षर गरेका छन् ।
बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरू ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको छ । मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंकको रूपमा रहेको ग्लोबलले तीन सय ५० वटा शाखा, तीन सय ६९ एटीएम, तीन सय २२ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहक माझ सेवा प्रदान गर्दै आएको छ ।