काठमाडौं । सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको घटनाका सम्बन्धमा नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री नारायाणकाजी श्रेष्ठसँग जवाफ माग गरेको छ ।
कांग्रेसका सांसदहरुले बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय र शून्य समय लिएर पार्टीकै तर्फबाट सरकारको ध्यानाकर्षण गरेका छन् । यादवमाथिको आक्रमणलाई थामथुम पार्ने प्रयास भएको भन्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विरोध गरे ।
नेपाली कांग्रेसको तर्फबाट सरकारलाई सचेत गराउन चाहन्छु । सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । यो विषयको गहिरो अनुसन्धान भएर सबै पक्षहरुको बारेमा अनुसन्धान होस्’ महामन्त्री थापाले भने ।
शान्ति सुरक्षाको विषयमा महामन्त्री थापाले सरकारको ध्यानाकर्षण गराउँदै गृहमन्त्रीलाई प्रश्न गरे, के अब हामीले काठमाडौंमा एक्लै हिड्न नहुने भएको हो ? यसरी खुकुरी हान्छन भने हामी एक्लै हिड्न हुने हो कि नहुने हो ?’
प्रतिनिधि सभाको अर्को बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले यसपछि बस्ने प्रतिनिधि सभाको बैठकमा यो घटनाको सत्यतथ्यको बारेमा सम्पुर्ण विवरण सहितको जानकारी र यसमा भए गरेका सम्पूर्ण कामहरुको विवरण सदनमा प्रस्तुत गर्न गृहमन्त्रीलाई आग्रह गरेका छन् ।
सत्य तथ्य छानबिन गरी पक्राउ परेका दोषी लगायत अरु पनि मानिसहरुको संलग्नता छ भने कडा भन्दा कडा कारबाहीका लागि समेत उनले सरकारलाई आग्रह गरे ।