काठमाडौँ । समयमा उपचार नपाउँदा कान्ति बाल अस्पतालमा एक बालिकाको निधन भएको विषयमा बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।
अस्पतालको लापर्वाहीका कारण मकवानपुरको थाहा नगरपालिका–१० जीतबहादुर गोपालीकी पाँच बर्षिया छोरी रेजिशा गोपालीको निधन भएको दाबी गर्दै घटनाको छानबिन, दोषीलाई कारबाही गरी पीडितलाई न्याय दिन नेकपा (एमाले)का सचेतक महेश वर्तौलाले बैठकमा माग गरेका छन् । उनले सबै बालबालिकालाई सहजरुपमा उपचारको उचित प्रबन्ध गराउन माग गरे ।
बालिकाको निधन दुःखद् भएको बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. चन्दा कार्की भण्डारीले सरकारले सरकारी अस्पतालको भौतिक पूर्वाधार विस्तारमा लगानी नगरेर यस्ता घटना घटिएकोमा अस्पताललाई मात्रै दोष दिन नमिल्ने बताइन् ।