काठमाडौं । हाथवे इन्भेस्टमेन्ट लिमिटेडले साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीको भदौ २१ गते बिहीबाट ५० रुपैयाँ अंकित मूल्य कायम रहने गरी १२ करोड १३ लाख ८७ हजार पाँच सय रुपैयाँ बराबरको २४ लाख २७ हजार सात सय ५० कित्ता साधारण सेयरको बिक्री खुला गरेको हो ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई अंकित मूल्य ५० रुपैयाँ कायम रहने गरी जारी पँुँजी एक अर्ब १७ करोड रुपैयाँको १२ दशमलव ५० प्रतिशतका दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति दिएको थियो । सोहीअनुसार कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीका क्रममा रहेका नेपाली नागरिकको लागि साधारण सेयर बिक्री गरी बाँकी रहेको सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।
पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई एक करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको दुई लाख ९२ हजार पाँच सय कित्ता सेयर बिक्री गरेको थियो । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य यही भदौ २१ गतेबाट सुरु भई छिटोमा भदौ २५ गतेसम्म र ढिलोमा असोज चार गतेसम्म कायम रहने बताइएको छ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम एक लाख कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्ने बताइएको छ ।