विराटनगर । प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरी सपथ गराउने भएका छन् । कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले बिहीबार ४८ घण्टाभित्र परमादेश दिएकोमा अदालतको आदेश प्राप्त भएलगत्तै मुख्यमन्त्री नियुक्ति गरेर सपथको तयारी भएको हो ।
शुक्रबार साँझ ६ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । कार्यालयका निमित सचिव नरेन्द्र श्रेष्ठका अनुसार सर्वोच्चको आदेशको जानकारी आएकोले मुख्यमन्त्री नियुक्तिको प्रक्रियासँग सपथको तयारी पनि भएको हो ।
संविधानको धारा १६८ को उपधारा ३ अनुसार सर्वोच्चले कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । परमादेश अनुसार मुख्यमन्त्री नियुक्त भएपछि कार्कीले २ जना प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गर्न तयारी गरेका छन् ।