झापा, मेचीनगर वडा नं ६ का ५१ वर्षीय कोइला व्यवसायी दुर्गाप्रसाद दाहाल विगत अढाइ महिनादेखि सम्पर्कविहीन भएका छन् । परिवारका सदस्यले खोजीका लागि प्रहरीलाई अनुरोध गरेका छन् ।
भारतबाट कोइला आयात गरेर नेपालमा रहेका इँटा उद्योगमा आपूर्ति गर्ने व्यवसाय सञ्चालन गर्दै आउनुभएका दुर्गाप्रसादसँग गत असार २ गते अन्तिम पटक फोनमा सम्पर्क भएको उहाँकी पत्नी शोभा दाहालले बताए । उनले इलाका प्रहरी कार्यालय काँकडभिट्टामा खोजीका लागि निवेदन दिएको बताए ।
प्रहरीले सचित्र हुलिया विभिन्न प्रहरी इकाइमा पठाएर र फोनमा भएको कल विवरण विश्लेषण गरेर खोजीकार्य गरिरहेको इप्रका काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए । दाहालका चार वर्षीय एक छोरा र १८ वर्षीया छोरी छन् ।
उनकी पत्नी शोभाले नातागोता, साथी र प्रहरीको सहयोगमा खोजीकार्य जारी रहेता पनि पत्ता लाग्न नसकेकामा चिन्ता व्यक्त गरे। “प्रहरी, नातागोता र साथीभाइ सबै गुहारिसक्यौँ, भेटिएका छैनन्”, उनले भने, “कहिल्यै घरझगडा पनि भएको थिएन, आर्थिक व्यवहारको पनि तनाब थिएन । उनको खोजीमा सघाइदिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछु ।”
जङ्गलको चौतारीमा महिला अलपत्र
पूर्वपश्चिम राजमार्गअन्तर्गत चारआली जङ्गल खण्डमा एक महिला दुई महिनादेखि अलपत्र रहेकी छन् । जङ्गलमा रहेको पक्की चौतारामा उहाँको रातोदिन बास छ ।
“मङ्गोलियन अनुहारकी अन्दाजी ३५ वर्षकी ती महिला नेपाली बोल्न सपक्छन् । भारतबाट आउने कुनै गाडीबाट चारआली बजारमा उत्रिएपछि उनी जङ्गलको चौतारोमा लुगाकपडाको पोकोसहित बस्दै आएकी हुन”, सडक मानवको उद्धारमा सक्रिय अभियन्ता नरेश मोहराले भने, “धरान र धनकुटामा नातेदार भएको बताउने उनले नातेदारको अहिलेको ठेगाना र नाम बताउन सक्दििनन्।”
अभियन्ता मोहराले उद्धार गरेर इटहरीको मायाघर लैजान प्रस्ताव गर्दा ती महिलाले नमानेको बताए । उनीबस्दै आएको चौतारो जङ्गली हात्ती हिँड्ने जोखिमपूर्ण क्षेत्रमा रहेको छ । दिउँसो राजगार्गमा सवारीसाधन र बटुवा हिँड्ने गरेता पनि सो स्थानमा राति सुनसान हुने गरेको छ ।रासस