काठमाडौँ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं पार्टीका संस्थापक नेता जननायक बिपी कोइराला नै आफ्नो राजनीतिक प्रेरणाको स्रोत भएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् ।
आइतबारदेखि प्रारम्भ भएको पार्टीले आयोजना गरेको तीन दिने ‘बिपी साहित्य महोत्सव’को उद्घाटन समारोहमा उनले बिपी आफैमा बहुआयामिक व्यक्तित्व भएको उल्लेख गरे । सभापति देउवाले भने, “उहाँ राजनीतिक जगतमा सबैका अनुकरणीय विचारक, चिन्तक हुनुहुन्थ्यो भने साहित्यिक आकाशमा सधैं अजर र अमर नक्षेत्रको रुपमा आज पनि स्थापित हुनुहुन्छ । उहाँको राजनीतिक चिन्तनले देखाएको मार्ग मै हामी हिँडेका छौं ।”
देउवाले नेपालका सबै राजनैतिक दलहरुले कुनै न कुनै दृष्टिकोणले आज पनि बिपीको विचारमा आकर्षित मात्रै होइन अनुकरण पनि गर्दै आएको बताए । उनले विपीकै चिन्तनले मुलुक समृद्ध बनाउन सकिने र प्रयत्न भइरहेको पनि उल्लेख गरे
“बिपी सादा जीवनमा विश्वास गर्ने उच्च तहको नेता र प्रसिद्ध साहित्यकार हुनुहुन्थ्यो । हामीले उहाँलाई भेट्दा तिमीहरु ठूलो मान्छे होइन, असल मान्छे बन्नु भन्नुहुन्थ्यो । उहाँले मार्क्स र गान्धीलाई गहिरिएर पढ्नुभएको थियो । प्रेम, शान्ति, अहिंसा र लोकतन्त्रका सन्दर्भमा उहाँ गान्धीसँग र आर्थिक समानताका सवालमा मार्क्सवादी चिन्तनलाई आवश्यक ठान्नुहुन्थ्यो”, सभापति देउवाले भने ।
सभापति देउवाले बिपीले प्रजातान्त्रिक समाजको व्याख्या गर्दै भनेको साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद हुन्छ र समाजवादबाट प्रजातन्त्र झिकिदियो भने साम्यवाद हुने बिपीको विचार रहेको बताए । उनले आज कांग्रेस बहुदलीय संसदीय शासन प्रणाली र प्रजातान्त्रिक समाजवादी अर्थ व्यवस्थालाई आफ्नो मूल सिद्धान्त र आर्दश कायम गरेर अघि बढेको बताए ।
सभापति देउवाले समयको अन्तरालसँगै आज हाम्रो मुलुक पनि बिपीले देखाएको प्रणालीमा अघि बढेको तर विभिन्न कारणले स्थायित्व नपाएको उल्लेख गर्दै नेपाल समाजवाद उन्मुख राष्ट्र भनेर संविधानमा नै लेखेको भए पनि यसको मर्मअनुसार अभ्यास गर्न नपाएको धारणा व्यक्त गरे ।
राज्यको सिमा र सार्वभैमिकताका लागि सबै छिमेकी मित्रराष्ट्रका समकक्षीसँग मित्रवत ढङ्गले स्वाभिमानका साथ आफ्नो मुलुकका पक्षमा बोल्नु र निर्णय गराई बिपीको स्वभाव रहेको सभापति देउवाको भनाइ छ ।
महामानव बिपी कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजना एवं नेपाली लेखक सङ्घको संयोजन एवं नेपाल सांस्कृतिक महासङ्घ, निरन्तर शनिबार र फाइनआर्टको सहयोगमा यही भदौ २४ देखि २६ गतेसम्म चल्ने पार्टी केन्द्रीय कार्यालय सानेपामा महोत्सव हुनेछ ।