पर्वत । करिब दुई दशकअघिदेखि यहाँको मिसन अस्पताल बन्द छ । विकट गाउँका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दक्षिण पर्वतको पैंयु गाउँपालिका–४ हुवासमा स्थापना गरिएको अस्पताल सम्बन्धित निकायको बेवास्ताका कारण अझै बन्द छ ।
विसं २०५० मा स्थापना गरिएको सो अस्पताल सञ्चालनको आठ वर्षमै बन्द भएपछि गाउँंलेले उपचारमा सास्ती व्यहोर्नुपरेको हो । उनीहरूले पटक–पटक अस्पताल सञ्चालन गर्नका लागि आग्रह गर्दै आएका छन् । सशस्त्र द्वन्द्वका क्रममा असुरक्षाका कारण बन्द भएको उक्त अस्पताल सञ्चालनमा नआउंँदा सर्वसाधरणले सास्ती खेप्दै आएका छन् ।
त्यतिबेला अस्पतालमा दुई अमेरिकी र चार नेपाली चिकित्सक कार्यरत थिए । विशेषज्ञ सुविधासहित सबै खालका शल्यक्रियासमेत हुने अस्पतालबाट तत्कालीन अवस्थामा पर्वत, स्याङ्जा र गुल्मीका सर्वसाधारण लाभान्वित थिए । पन्ध्र शय्याको उक्त अस्पताल बन्द भएको दुई दशक बित्दा पनि सञ्चालनमा कसैले चासो दिएका छैनन् । व्यक्तिको १५ रोपनी जग्गामा ‘एडभान्टिस्ट फन्ट मिसन’ नामक अमेरिकी संस्थाले रु. एक करोड लगानीमा निर्माण गरेको उक्त अस्पतालका चार भवन र फर्निचर अहिले जीर्ण बनेका छन् ।
द्वन्द्वकालमा अमेरिकी सरकारले आफ्ना सबै चिकित्सक फिर्ता बोलाएपछि अस्पताल नै बन्द भएको उक्त अस्पतालका पूर्वरजिष्ट्रार गङ्गा न्यौपानेले बताए । अस्पताल बन्द भएपछि सरकारले सञ्चालनमा चासो नदिँदा आफूहरू समस्यामा परेको स्थानीय समाजसेवी लालबहादुर प्रधानले बताए ।
“पाल्पाको मिसन अस्पतालको अवधारणाअनुसार निर्माण भएको यो अस्पताल बन्द भएपछि बिरामी उपचारका लागि पोखरा, स्याङ्जा, बुटवल, पाल्पा, भैरहवालगायत ठाउँ जान बाध्य छन्”, प्रधानले भने । सबै किसिमका बिरामीको जाँच गर्ने गरिएकाले अस्पतालमा दैनिक ५० देखि एक सय जनासम्म बिरामी उपचारका लागि आउने गर्थे ।
अस्पताल सञ्चालन भए पनि पर्याप्त चिकित्सक र उपकरण नहुँदा सामान्य रोगबाहेकका बिरामी पोखरा, पाल्पा, काठमाडौँ नै धाउनुपर्ने अवस्था छ । स्थानीय तहले समेत अलपत्र अस्पताल र त्यहाँ रहेका सामानको व्यवस्थापनमा चासो नदिएको स्थानीय अनिता शर्माले बताइन् ।
अस्पातललाई सरकारले सञ्चालनमा ल्याउन सके आफूहरूले महँंगो रकम तिरेर उपचार गर्न अन्यत्र जानुपर्ने समस्या हटने प्रदेशसभा सदस्य मित्रलाल बस्यालको भनाइ छ । गाउँलेले स्थानीय प्रशासन, राजनीतिक दलका प्रतिनिधिसँंग अस्पताल सञ्चालनका लागि पहल गरिदिन आग्रह गरे पनि कसैले चासो नदिएको उनले बताएका छन् ।