भारत। अफ्रिकी संघ ‘जी २०’को नयाँ सदस्यको रूपमा थपिएको छ । विशाल अर्थतन्त्र भएका १९ राष्ट्र र युरोपेली संघ मिलेर बनेको अन्तरसरकारी संगठन जी २० मा नयाँ सदस्यको रूपमा अफ्रिकी संघ थपिएको हो ।
जी २० का अध्यक्ष रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शिखर सम्मेलनमा स्वागत मन्तव्यमा अफ्रिकी संघको प्रतिनिधित्व गरेका संघका अध्यक्ष अजाली असुमानीलाई स्थायी सदस्यको रूपमा स्वागत गरेका हुन् । असुमानीले जी २० को स्थायी सदस्यका रूपमा समूहका नेताहरूसँगै आसनग्रहण गर्न आग्रह गरेका हुन् ।
प्रधानमन्त्री मोदीले नै अफ्रिकी संघलाई जी २० समूहमा ल्याउन प्रस्ताव गरेका थिए । स्वागत मन्तव्यमा मोदीले अफ्रिकी संघलाई स्थायी सदस्य बनाउन पाउनु आफ्नो उद्देश्य भएको पनि बताए ।
अफ्रिकी संघमा अफ्रिकी महादेशका ५५ देश आबद्ध छन् । अफ्रिकी संघ सन् २००२ मा गठन भएको थियो । अफ्रिकी संघ जी २० मा समावेश भएपछि केन्याका राष्ट्रपति विलियम रुटोले वैश्विक चुनौती सामना गर्न सहज हुने बताएका छन् । उनले अब अफ्रिका महादेश विश्वमा देखिने र उसका आवाज पनि सुनिने बताए ।