काठमाडौं । ज्योति क्यापिटल लिमिटेडको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष कपिल ढकालको अध्यक्षतामा कम्पनीले बिहीबार ज्योति विकास बैंकको केन्द्रीय कार्यालय, कमलपोखरीको सभाहलमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पुँजीको १० दशमलव ५२ प्रतिशतका दरले हुन आउने लाभांश करसहित दुई करोड २१ लाख पाँच हजार दुई सय ३० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले ज्योति विकास बैंकबाहेकका संस्थापक समूहको सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा अविनास उप्रेतीलाई निर्विरोध निर्वाचित समेत गरेको छ ।
ज्योति विकास बैंकको सहायक कम्पनीकारूपमा रहेका यस क्यापिटलको चुक्ता पुँजी २१ करोड रहेको छ । कारोबार सञ्चालनको अनुमति पाएको तीन महिनाभन्दा कम समयमा नै यस क्यापिटलले ६३ लाख ५९ हजार रुपैयाँ बराबरको आयकर तथा तीन लाख ७२ हजार रुपैयाँ बराबर अन्य कर गरी जम्मा ६७ लाख ३१ हजार रुपैयाँ करमार्फत राज्यको समृद्धिमा योगदान पु-याएको छ ।
हरेक ग्राहकको सम्पन्नताको सहयात्री बन्ने उद्देश्य बोकेको यस क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकिङ कार्य गर्न अनुमतिको लागि आवेदन गरी धितोपत्र बोर्डबाट पूर्वाधार तयार गर्ने पत्र प्राप्त गरी लगानी व्यवस्थापन, संस्थागत परामर्शलगायतका सेवा प्रदान गर्ने गरी पूर्ण सञ्चालनमा आउने क्रममा रहेको छ ।