अमेरिका, वैशाख २२
अमेरिकी अर्बपति वारेन बफेटले अमेरिकी एयरलाइन्समा रहेका सबै सेयर बिक्री गरेका छन् । उनको कम्पनी ब्रेकशायर हाथावेले चारवटा ठूला अमेरिकी वायुसेवा कम्पनीमा रहेको सबै सेयर बिक्री गरेको जानकारी दिएको छ । सेयरसदस्यहरुसँगको भर्चुअल वार्षिक सम्मेलनमा बोल्दै बफेटले कोरोनाभाइरसले विश्व नै परिवर्तन हुने भन्दै उक्त जानकारी दिएको बीबीसीले जनाएको छ ।
उनले वायुसेवा क्षेत्रमा लगानी गर्नु आफ्नो गल्ती भएको समेत बताएका थिए । ब्रेकशायरले चालू वर्षको पहिलो तीन महिनामा ५० अर्ब डलर घाटा व्यहोर्नुपरेको जनाएको छ । बफेटको डेल्टा एयरलाइन्समा ११ प्रतिशत, अमेरिकन एयरलाइन्समा १० प्रतिशत, साउथवेस्ट एयरलाइन्समा १० प्रतिशत र युनाइटेड एयरलाइन्समा ९ प्रतिशत सेयर रहेको थियो । सन् २०१६ देखि वायुसेवा कम्पनीमा उनले लगानी सुरु गरेका थिए ।
भर्चुअल बैठकमा उनले पैसा फाल्नकै लागि वायुसेवा क्षेत्रमा लगानी नगरिने बताएका थिए । कोरोनाभाइरसका कारण अमेरिकी वायुसेवा क्षेत्र नै चौपट भएको छ । डेल्टा एयरलाइन्सले सेयर बिक्रीबारे जानकार रहेको प्रतिक्रिया दिएको छ । बफेट ८८ अर्ब अमेरिकी डलर सम्पत्तिका मालिक हुन् ।