काठमाडौं । बाँकेको नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाख रुपैयाँसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।
विमानस्थलमा जाँचका क्रममा सापकोटाले बोकेको झोलाबाट स्रोत नखुलेको सो रकम बरामद गरिएको प्रहरीले जनाएको छ । कर अधिकृत सापकोटाका साथमा रहेका तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमै कार्यरत दिपक पौडल भने फरार भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उक्त रकम लिएर सापकोटा श्री एयरलाइन्सको उडानबाट नेपालगञ्जदेखि काठमाडौं आउँदै थिए । सापकोटालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।