जनकपुर, वैशाख २२
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीहरूले अनाथ आश्रमलाई सहयोग गरेका छन् । कम्पनीको २०औं वार्षिकउत्सव तथा कम्पनीको स्वतन्त्र कर्मचारी युनियनको १०औं स्थापना दिवसको अवसरमा संस्थागत सामाजिक उत्तदायित्व कार्यक्रमअन्तर्गत आश्रमलाई सहयोग गरिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीको धनुषा र महोत्तरीका कर्मचारीहरूको संयुक्त पहलमा जनकपुरधाम ८ स्थित सद्गुरु कविर अनाथ बाल वात्सल्यमा एक हजार लिटरको पानी ट्याङ्की, एक थान इन्भटर मेसिन तथा तीन थान सिलिङ पंखा सहयोग गरिएको छ । उक्त सामानहरूको मूल्य ५० हजार रूपैयाँबराबरको रहेको कम्पनीले जानकारी दिएको छ । स्थापना दिवसको अवसरमा कर्मचारीहरूले पाउने मिठाइ खर्च बचाएर सो सामानहरू आश्रमलाई सहयोग गरेको शाखा प्रमुख अनिलकुमार मिश्रले जानकारी दिए ।
धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको प्रमुख आतिथ्य तथा प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतको विशिष्ठ उपपस्थितिमा आश्रमका सञ्चालक स्वामी सत्यनारायण अलोकलाई सो सामानहरू हस्तानान्तरण गरिएको कम्पनीले जानकारी दिएको छ । सो अवसरमा कम्पनीको गण्डकी क्षेत्रीय प्रबन्धक दशरथ झा, धनुषा तथा महोत्तरीका विभिन्न शाखाका प्रमुखहरू, समाजसेवी अमरचन्द्र अनिललगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।