काठमाडौँ । हङ्कङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बुझाउने तयारी गरेको छ । प्रतिवेदनको लेखन सकेर मंगलबार वा बुधबारमा नै बुझाउने तयारी गरिएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए ।
यस मुद्दामा सङ्गठित अपराधको अनुसन्धान भइरहेकोमा यसै महिनाको ३१ गते ६० दिन पुग्ने भएकाले सो अबधिसम्म मुद्दा अदालतमा पुग्नुपर्छ । प्रतिवेदन लेखन लगभग सकिएको र केही प्राविधिक काम बाँकी रहेको सिआइबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिए ।
उक्त सुन तस्करी प्रकरणमा पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक रहेका छन् । अहिलेसम्म प्रहरीले ३१ जनालाई पक्राउ गरेकामा ३० जना प्रहरी हिरासतमा छन् ।
तस्करीमा भन्सारका कर्मचारीकै मिलेमतो रहेको पाइएकाले पछिल्लो समयमा प्रहरीले भन्सार अधिकृत पुष्पा जोशीसहित नायब सुब्बा कमल परियार र वीरेन्द्र नेपालीलाई पक्राउ गरेको थियो । विभागले आवश्यक अनुसन्धान सकेको १८ दिनपछि सुन प्रकरणको अनुसन्धान अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गरिरहेको छ ।