काठमाडौं । माछापुच्छ्रे बैंकले आगामी असोज १८ गते वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । माछापुच्छ्रे बैंक आर्थिक वर्ष २०७९/८० मा साधारणसभा घोषणा गर्ने पहिलो बैंक बनेको हो ।
बैंकको सेयरधनीलाई गत आवको मुनाफाबाट एक अर्ब ३६ करोड ४२ लाख एक हजार छ सय ९२ रुपैयाँ (चुक्ता पुँजीको १३ दशमलव ३० प्रतिशत) बोनस सेयर र सात करोड १८ लाख ८९ रुपैयाँ (चुक्ता पुँजीको शून्य दशमलव ७० प्रतिशत) नगद लाभांश कर प्रयोजनका लागि गरेर जम्मा करसहित १४ प्रतिशत लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृत प्रदान गरेसँगै यही भदौ २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उपरोक्त मितिमा वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त लाभांश बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् वितरण हुने बैंकले जनाएको छ ।
बैंकले गत आर्थिक वर्षमा एक अर्ब ६२ करोड ५५ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८५ पैसा कायम गरेको थियो । बैंकको चुुक्ता पुँजी १० अर्ब २५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा दुई अर्ब ६९ करोड रुपैयाँ सञ्चित छ । हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ सेवा पु-याउने उद्देश्यका साथ बैंकले देशका सातवटै प्रदेशमा एक सय ६५ वटा शाखा, १२ एक्सटेन्सन काउन्टर, एक सय ३० शाखारहित बैंकिङ सेवा, दुई सय दुई वटा एटीएममार्फत १५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।