सुबास बस्नेत
दोलखा, वैशाख २३
दोलखाको उत्तरी विगु १ लामाबगरमा निर्माणाधीन अवस्थामा रहेको माथिल्लो तामाकाशी आयोजनाको कामलाई लकडाउनले रोक्न सकेन । राष्ट्रिय गौरवको यस जलविद्युत् आयोजनाको काम लकडाउनको समयमा पनि निरन्तर भइरहेको छ ।
आयोजनामा अहिले पेनस्टक जडानको काम भइरहेको छ । आयोजनाको भर्टिकल साफ्ट (ठाडो सुरुङ)मा अब एक सय ४५ मिटर मात्र पेनस्टक जडान गर्न बाँकी रहेको छ । दुईवटा भर्टिकल साफ्टमा गरी जम्मा छ सय ८३ मिटर पेनस्टक जडान गर्नुपर्नेमा वैशाख २० गते सम्ममा एक सय ४५ मिटर मात्र जडान गर्न बाँकी रहेको हो । आयोजनाको कठिन मानिएका दुई भर्टिल साफ्टमध्ये माथिल्लोमा एक सय १० मिटर तथा तल्लोमा ३७ मिटर पेनस्टक जडान गर्न बाँकी रहेको छ ।
आयोजनाको तीन सय ७३ मिटर लामो तल्लो भर्टिकल साफ्ट मा तीन सय ३६ मिटर तथा तीन सय १० मिटर लामो माथिल्लो भर्टिकल साफ्टमा दुई सय मिटर पेनस्टक जडानको काम सम्पन्न भइसकेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले बताए । आयोजनामा पेनस्टकसम्बन्धी काम गरिरहेका मजदुरहरूले घर जान माग गरेकाले केही समय पेनस्टकको काम रोकिएकोमा शुक्रबारबाट पुनः जडानको काम निरन्तर भइरहेको प्रवक्ता न्यौपानेको भनाइ छ ।
वैशाखको सुरु सम्ममा पेनस्टक जडानको काम सक्ने आयोजनाले बताउँदै आए पनि लकडाउनका कारण इन्धन तथा अन्य सामग्री ढुवानमा परेको समस्याले पेनस्टक जडान कार्य सम्पन्न हुन नसकेको आयोजनाले बताएको छ । आयोजनाको माथिलो भर्टिकल साफ्टमा भारतीय कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङ तथा तल्लो भर्टिकल साफ्टमा अष्ट्रियन कम्पनी एन्ड्रिजले पेनस्टक जडानको काम गर्दै आएका छन् । लकडाउनका कारण आयोजनाको स्थगित भएको हेडवक्सको परीक्षण भने लकडाउनपछि पुनः सुचारु गरिने आयोजनाको भनाइ छ ।
हेडवक्सको परीक्षण अन्तरगत बाँधको परीक्षण भइसकेको छ भने डिस्यान्डरको परीक्षण बाँकी छ । आयोजनाको प्रसारणलाइनको काम सम्पन्न भइसकेको छ । रामेछाप जिल्लाको फुलासीमा निर्माणाधीन सब स्टेशनको सिभिल संरचनाको काम पनि करिव सकिएको छ भने सवस्टेशनमा उपकरण जडानको काम बाँकी रहेको छ । चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युुत् आयोजनामा जडित छवटा युनिटमध्ये एउटाबाट असार मसान्तसम्ममा परीक्षण उत्पादन थाल्ने आयोजनाको लक्ष्य छ ।