काठमाडौँ : एमालेका नवधनाढ्य नेता बालकृष्ण शिवाकोटीले संचालन गरेको तीनकुने स्थित दिव्य सःमिलमा धारिलो हतियार प्रहार गरेर चार जनाको हत्या भएको छ । काठमाडौँ महानगरपालिका ३२ तीनकुनेस्थित गैह्रीगाउँमा रहेको सो काठ मिल भित्र काठले बनेको एक तले जस्ताको टहरोमा सुतेका दुई पुरुष र दुई महिलाको हत्या भएको हो । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार हत्या गरिएका चार जनामध्ये तीन जना एकै परिवारका छन् । हत्यामा दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष अन्दाजी ५६ का कुमार भुजेल, उनकी श्रीमती वर्ष अन्दाजी ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की सुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नवीन राईको निधन भएको छ । उनीहरुको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट छ । अहिले प्रहरीद्वारा तालिमप्राप्त कुकुरसमेत लगी अनुसन्धान कार्य जारी रहेको छ । पछिल्लो समय दोलखाबाट गठबन्धनका नेता संग संविधानसभाको निर्वाचनमा पराजित शिवाकोटीको आर्थिक अवस्था जुरुक्कै उठेपछि यसको कारणबारे चर्चा समेत हुने गरेको छ ।