काठमाडौं । शुक्रबार राति काठमाडौंको तीनकुनेमा चार जनाको हत्या भएको घटनामा थप एक जनालाई आइतबार बिहान लोकन्थलीबाट प्रहरीले पक्राउ गरेको छ। प्रहरीले पक्राउ पर्ने व्यक्तिको परिचय गोप्य राखेको स्रोतले जनाएको छ। स्रोतका अनुसार हत्यामा संलग्न भएको आशंकामा उनलाई पक्राउ गरिएको हो।
काठमाडौं महानगरपालिका-३२ तीनकुनेस्थित दिव्य सःमिलभित्र काठले बनेको टहरामा धारिलो हतियार प्रहार गरी चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको थियो। घटनाबारे जानकारी दिने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।
प्रहरीको टोली शुक्रबार राति १२ बजे सःमिल पुग्दा ४ जनाको बीभत्स हत्या भएको फेला पारेको थियो।शुक्रबार राति आफैं प्रहरी वृत्त बानेश्वर पुगेर तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राईले घटनाबारे जानकारी दिएका थिए। उनलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।
घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले शनिबार हत्यामा प्रयोग भएको धारिलो हतियार फेला पारेको थियो । पोष्टमर्टमको लागि हत्या गरिएको अवस्थामा भेटिएका चारै जनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ।