एजेन्सी, रुसले दुई महिनाअघि कृष्ण सागरबाट अन्न आपूर्ति गर्ने युुक्रेनसँगको सम्झौता एकतर्फीरुपमा समाप्त भएको घोषणा गरेपछि युक्रेनको अनाज आपूर्ति रोकिएको थियो । अहिले युक्रेनबाट खाद्यान्न ओसार्न नयाँ मार्गको सफल प्रयोग गरिएको युक्रेनी अधिकारीहरुले जनाएका छन् । खाद्यान्न ओसार्ने दुईवटा मालवाहक पानीजहाज नयाँ मार्ग प्रयोग गरेर ‘ब्ल्याक सी’ भनिने कृष्णसागर हुँदै युक्रेनी बन्दरगाह चोरनोमोर्सक पुगेका छन् ।
युक्रेनी बन्दरगाह अधिकारीहरूका अनुसार टापु राष्ट्र पलाउको झण्डा फहराउँदै बन्दरगाह पुगेका पुगेका छन् । यी दुई जहाजले इजिप्ट र इजरायलमा २० हजार टन गहुँ ढुवानी गर्नेछन् । युक्रेन सूर्यमुखी तेल, जौ, मकै र गहुँ आपूर्ति गर्ने विश्वको सबैभन्दा ठूलो देश हो ।रुसले कृष्ण सागरबाट अन्न आपूर्ति गर्ने सम्झौता खारेज गरेपछि स्वतन्त्ररुपमा जहाज युक्रेनी बन्दरगाहमा पुगेको यो पहिलो पटक भएको बताइएको छ । ब्ल्याक सीको तटबाट किएभले नयाँ मार्गमा जहाज सञ्चालनलाई प्राथमिकता दिएको छ ।
पश्चिमा मुलुकले लादेको प्रतिबन्धका कारण आफ्नो खाद्यान्न र मल निर्यात प्रभावित भएको मस्कोले गुनासो गरेको छ । साथै युक्रेन जाने जहाजमाथि सैन्य कारबाही गर्ने धम्की दिएको छ । गत साताको प्रारम्भमा ओडेसाको युक्रेनी बन्दरगाहमा रोकिएका जहाजलाई लक्ष्य गरी रुसले आक्रमण गरेको आरोप बेलायतले लगाएको छ ।
करिब २० महिनाअघि रुसले युक्रेनमा आक्रमण गरेपछि निर्यातका निम्ति तयारी अवस्थामा राखिएको दुई करोड टन अन्न विश्वबजारमा पु¥याउन कठिन भएको थियो । पर्याप्त मात्रामा उक्त अनाज निर्यात नहुँदा संसारभर खाद्यान्नको मूल्य बढ्यो भने मध्यपूर्वी र अफ्रिकी देशहरूमा अभाव सिर्जना भएको थियो ।
मस्कोले युक्रेनी बन्दरगाह पूर्वाधारलाई आक्रमणको निशाना बनाउँदै आएको छ । उसले इज्मेल र रेनीको बन्दरगाहमा बारम्बार आक्रमण गरेको छ । विश्वव्यापी खाद्य सुरक्षालाई कमजोर पार्ने उद्देश्यका साथ मस्कोले अन्न निर्यात हुने स्थानमा आक्रमण गरेको आरोप किएभले लगाएको छ ।