काठमाडौं, वैशाख २३
नबिल बैंकले घरमा नै बसेर खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले घरमै बसेर खाता खोलेर सीमित कारोबार गर्न मिल्नेगरी नयाँ सेवा सुरु गरेको हो । ग्राहकलाई प्रविधिमैत्री बनाउँदै सेवा दिने उद्देश्यअनुुरूप नयाँ सेवा सुरु गरिएको जानकारी बैंकले दिएको छ । विश्वव्यापीरूपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले घरमै बसी अनलाइनमार्फत खाता खोली सीमित कारोबार गर्न सकिने सुविधा सुरु गरिएको बैंकले जानकारी दिएको छ ।
ग्राहकले बैंक शाखामा नआई आफ्नै घरबाट खाता खोली इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ जस्ता डिजिटल सुविधाहरूको तत्काल लाभ लिन सक्ने जनाएको छ । यसरी खोलिएको खाताबाट मोबाइल बैंकिङ सुविधाअन्तर्गत ग्राहकले रिचार्ज गर्ने, बिल भुक्तानी, बीमा प्रिमियम भुक्तानी गर्ने, रकम रकमान्तर गर्नेजस्ता कार्यहरू गर्न पाउने बैंकले जानकारी दिएको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा दुुई अर्ब चार करोड १८ लाख ६१ हजार रूपैयाँ खुुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा एक अर्ब ४५ करोड ९१ लाख ३७ हजार रूपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा दुुई अर्ब १७ करोड ६८ लाख ६२ हजार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १० अर्ब नौ करोड ७४ लाख ९७ हजार रूपैयाँ रहेको बैकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा एक खर्ब ६४ अर्ब ३२ करोड ४५ लाख ३२ हजार रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४१ अर्ब ३९ करोड ४५ लाख २३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन अर्ब ४५ करोड १६ लाख ८६ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शुन्य दशमलव ७५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा बैंकले एक खर्ब ६२ अर्ब ९५ करोड ४० लाख रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब २७ अर्ब ५० करोड दुई लाख ४३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ६१ करोड १३ लाख ५५ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ६२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।