काठमाडौं । बैंकिङ क्षेत्रको कुल कर्जा ४९ खर्ब रूपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले भदौ ३१ गते अद्यावधिक गरेको विवरणअनुसार बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा लगानी ४९ खर्ब १३ अर्ब रूपैयाँ पुगेको छ ।
बैंकिङ क्षेत्रबाट प्रवाह भएको कुल कर्जा रकममध्ये वाणिज्य बैंकहरूले ४३ खर्ब ४७ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा विकास बैंक र फाइनान्स कम्पनीहरूले प्रवाह गरेको कुल कर्जा रकम भने पाँच खर्ब ६६ अर्ब रूपैयाँ छ । राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ५७ खर्ब ४१ अर्ब रूपैयाँ पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरूको कुल निक्षेप ५० खर्ब ६० अर्ब रूपैयाँ छ भने विकास बैंक र फाइनान्स कम्पनीहरूको रकम छ खर्ब ८१ अर्ब रूपैयाँ छ ।
बैंकिङ क्षेत्रको समग्र कर्जा ४९ खर्ब रूपैयाँ नाघे पनि निजी क्षेत्रमा प्रवाहित कर्जा भने घटेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षकोे पहिलो महिनाको प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा चार अर्ब ३५ करोड अर्थात् शून्य दशमलव एक प्रतिशतले घटेको देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा दुई अर्ब ३१ करोड रूपैयाँ अर्थात् शून्य दशमलव शून्य पाँच प्रतिशतले घटेको थियो । बैंकरहरूका अनुसार भदौमा पनि निजी क्षेत्रमा जाने कर्जा बढ्न सकेको छैन । बैंकहरूले निजी क्षेत्रबाट कर्जाको माग नबढेको तर सरकारले धमाधम ऋण उठाइरहेकाले कर्जाको आकारमा सामान्य वृद्धि हुँदै गएको बताउने गरेका छन् ।
राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा २०८० साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा तीन दशमलव आठ प्रतिशतले बढेको छ । २०८० साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३ दशमलव सात प्रतिशत र ३६ दशमलव तीन प्रतिशत थियो ।
साउनमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह शून्य दशमलव एक प्रतिशतले र विकास बैंकहरूको शून्य दशमलव दुई प्रतिशतले घटेको छ भने फाइनान्स कम्पनीहरूको शून्य दशमलव नौ प्रतिशतले बढेको छ । साउनसम्म बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये १२ दशमलव एक प्रतिशत कर्जाको लागि चालू सम्पत्ति अर्थात् कृषि तथा गैरकृषिजन्य वस्तु सुरक्षणको रूपमा रहेको छ । यसबाहेक ६७ दशमलव एक प्रतिशत कर्जाको लागि घरजग्गा धितो सुरक्षण रहेको छ । २०७९ साउन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२ दशमलव चार प्रतिशत र ६६ दशमलव छ प्रतिशत रहेको थियो ।
बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालू आर्थिक वर्षको पहिलो महिनामा औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा एक दशमलव एक प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा एक दशमलव पाँच प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा शून्य दशमलव सात प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा शून्य दशमलव नौ प्रतिशतले बढेको छ । यस्तै कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा शून्य दशमलव नौ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा एक दशमलव पाँच प्रतिशतले र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा एक दशमलव तीन प्रतिशतले घटेको छ ।
साउनमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा दुई दशमलव चार प्रतिशतले बढेको छ भने ‘रियल स्टेट’ कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) शून्य दशमलव तीन प्रतिशतले बढेको छ । यस अवधिमा नगद प्रवाह कर्जा सात दशमलव छ प्रतिशतले, मार्जिन प्रकृतिका कर्जा शून्य दशमलव एक प्रतिशतले र ‘ट्रस्ट रिसिट’ अर्थात् आयात कर्जा पाँच प्रतिशतले बढेकोमा अधिविकर्ष कर्जा २८ दशमलव नौ प्रतिशतले र ‘हायर पर्चेज’ कर्जा १६ दशमलव आठ प्रतिशतले घटेको छ ।