काठमाडौं । भक्तपुरमा निर्माण गरिएको लौहपुरुष स्व. गणेशमान सिंहको पूर्णकदको प्रतिमा अनावरण गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार एक कार्यक्रमका बीच एक हजार दुई किलो ढलोट प्रयोग गरी निर्माण गरिएको १२ फिट अग्लो स्व. सिंहको पूर्णकदको प्रतिमा अनावरण गरेका हुन् ।
गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिभा स्थापना संरक्षण समितिले सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित गणेशमान वाटिकास्थलमा प्रतिमा निर्माण गरेको हो । अनावरण कार्यक्रममा राष्ट्रपति पौडेलले सारा नेपालीले नेता मानेको एक मात्र व्यक्ति गणेशमान सिंह नै भएको दाबी गरे । २०४६ सालको जनआन्दोलनमा फरक विचार भएका पार्टीलाई पनि आफ्नै नेतृत्वमा एकै ठाउँमा ल्याएर जनआन्दोलनको नेतृत्व गर्न स्व. सिंह सफल भएको उनले स्मरण गरे । गणेशमान सिंहले राजनीति सत्ता र स्वार्थका लागि नभई देश र जनताको लागि हो भन्ने मान्यता स्थापित गरेको उनको भनाइ थियो । जहानियाँ राणा शासनदेखि एकतन्त्रीय पञ्चायती शासनविरुद्ध अधिकार स्थापित गर्न प्रजातन्त्र प्राप्तिका लागि कठिन योगदान दिने योद्धाको नाम गणेशमान नै रहेको उनले बताए ।
२०४६ सालको जनआन्दोलन सफल भएपछि राजाले प्रधानमन्त्री पद दिँदा पनि नलिएर समकक्षी नेतालाई सुम्पेर त्याग, आदर्श र निष्ठाको राजनीति गरेर स्व. सिंहले सबै दलका नेतालाई प्रेरणा दिएको पौडेलको भनाइ थियो । कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले सबैका लागि प्रेरणाको स्रोत बनेका गणेशमानले लोकतान्त्रिक अधिकार प्राप्तिका लागि गरेको अतुलनीय योगदान, कानुनी शासन स्थापनाका लागि गरेको त्यागका बारेमा नयाँ पुस्तालाई जानकारी गराउनुुपर्ने बताए । यस्तै, उनले वाटिकामा अधुरा रहेका संरचना निर्माणलाई पूरा गर्न स्थानीय, प्रदेश सरकारसँगै केन्द्रीय सरकारले पनि सहयोग गर्ने विश्वास व्यक्त गरे । यस क्षेत्रलाई विशिष्ट पार्क, दर्शनीय व्यक्तित्वको स्मरण गर्ने स्थलका रूपमा विकास गर्न बाँकी रहेका काम पूरा गर्ने उनको भनाइ थियो ।
कार्यक्रममा गणेशमान सिंह फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहले देशलाई स्वतन्त्र बनाउँदै जनाधिकार स्थापित गर्ने छ दशक लामो राजनीतिक जीवनमा १५ वर्ष जेल र १५ वर्ष निर्वासित जीवन बिताएका गणेशमानलाई कुनै पनि पुस्ताले बिर्सन नहुने बताए । कार्यक्रमका सभापति एवम् समितिका अध्यक्ष माथवरसिंह बस्नेतले २०५४ सालमा स्थापना भएको समितिले तत्कालीन कटुञ्जे गाविसको सिफारिसमा तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको पालामा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद् बैठकले पारित गरी कित्ता नं ४२१ को एक सय ४८ रोपनी पाँच आना जग्गा वाटिका स्थापना गर्न समितिको नाममा नामसारी गरेपछि उक्तस्थलमा गणेशमानको प्रतिमा एवम् वाटिका निर्माण भएको जानकारी दिए ।
तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले विसं २०५४ मा वाटिकाको शिलान्यास गरेका थिए । विसं २०७२ कात्तिक २४ गते वाटिकामा गणेशमान सिंहको प्रतिमा अनावरण गर्ने लक्ष्यका साथ निर्माण कार्य सुरु भएको थियो । विसं २०५७ मै करिब एक करोडको लागतमा स्व. सिंहको पूर्ण कदको प्रतिमा निर्माण सम्पन्न भए पनि अन्य निर्माणका काम हुन सकेको थिएन । समितिले त्यस क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको उद्यान, बहुउद्देश्यीय भवन, प्रजातान्त्रिक जनआन्दोलनका योद्धाको जीवनी झल्किने सङ्ग्रहालय, भ्यु टावर, वनभोजस्थल, आधुनिक बगैँचा, बालबालिका उद्यान, अतिथि गृह, चमेना गृह, रोपवे तथा पर्यटकीय गन्तव्य, स्व. सिंहले प्रजातान्त्रिक आन्दोलनमा गरेका सङ्घर्ष र त्यागका बारेमा विस्तृत विवरणका अतिरिक्त प्रजातान्त्रिक सहिदको जीवनी समेटेर राख्ने गरी सङ्ग्रहालय निर्माण, प्रजातान्त्रिक योद्धाको सङ्घर्षका बारेमा अध्ययन, अनुसन्धान गर्ने/गराउने, प्रजातन्त्रका आदर्श, मूल्य र मान्यतामाथि विज्ञ, अनुभवीबाट प्रवचन गराउने थलोको रूपमा विकास गर्ने गरी ३४ करोड रुपैयाँको गुरुयोजना तयार पारेको छ ।