काठमाडौँ । बुधबार मूल समारोह समितिले संविधान दिवस, २०८० का अवसरमा सैनिक मञ्च (टुँडिखेल)मा विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरू, सङ्घीय संसद्का सभापति र सांसदहरू, विदेशी मित्रराष्ट्र तथा नियोगका प्रमुख र प्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थिति थियो ।
सो अवसरमा नेपाली सेनाको हेलिकोप्टरबाट ‘संविधान दिवस, २०८०’ ब्यानर लेखिएको होलिकोप्टरले चक्रपथ परिक्रमा गरी पृष्पवृष्टि गरेको थियो । मैदानबाट रङ्गीचङ्गी बेलुन र शान्तिका दूत परेवा उडाइनुका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विभिन्न टोलीबाट मार्चपास तथा साङ्गीतिक प्रस्तुति गरिएको थियो । काठमाडौँ, ललितपुर र भक्तपुरका महानगर र नगरपालिकाद्वारा सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।