काठमाडौं । ‘राइड सेयर’ एप इनड्राइभले नेपालमा कानुनीरूपमा दर्ताका लागि आवेदन दिएको छ । एसिया प्यासिफिक (एपीएसी)का लागि इनड्राइभका निर्देशक रोमन एर्मोसिनले इनड्राइभले सरकारी निकायमा दर्ताका लागि आवेदन गरिसकेको र स्वीकृतिको पर्खाइमा रहेको बताए ।
इनड्राइभका निर्देशक रोमन एर्मोसिनले हालै काठमाडौंमा नेपाली सञ्चारमाध्यमसँगको अन्तक्र्रिया गरी सो कुराको जानकारी दिएका हुन् । इनड्राइभको आधिकारिक सुरुवात गर्नुअघि कानुनद्वारा आवश्यक इजाजतपत्र र स्वीकृतिहरू प्राप्त गर्न कम्पनी प्रतिबद्ध रहेको उनले बताए । साथै, उनले कम्पनीको वर्तमान अवस्था र आगामी योजनाका बारेमा जानकारी गराएका थिए । ‘इनड्राइभ’ले राइडसेयर कम्पनीको भिडमा बिस्तारै लोकप्रियता प्राप्त गर्दै गएको उनको भनाइ छ । अन्य प्रतिस्पर्धी ब्रान्डको तुलनामा यात्रुहरूका लागि सस्तो भाडा र चालकहरूका लागि कुनै ‘कमिसन’ नभएका कारण यो लोकप्रिय रहँदै आएको उनले बताए ।
इन्ड्राइभले २०२२ देखि काठमाडौंमा आफ्नो सेवाहरू सुरु गरेको थियो । त्यसबेलादेखि नै ग्राहकलाई उनीहरूको आफ्नो सवारीको मूल्य निर्धारण गर्ने स्वतन्त्रता दिइरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार इन्ड्राइभ संसारमा दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको मोबिलिटी एप रहेको छ ।