काठमाडौँ । नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौँमा शिक्षकहरुको आन्दोलन भइरहेका बेला काठमाडौँ महानगरपालिकाले स्कुल बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने बताएको छ ।
शिक्षकहरूको आन्दोलनका कारण विद्यालय बन्द भएको खण्डमा कारबाही गरिने महानगरका प्रेस संयोजक सुरेन्द्र बजगाईँले बताए । उनले भने, विद्यालय बन्द गरियो भने कारबाही गर्न महानगरले शिक्षा विभागलाई निर्देशन दिएको छ ।
विद्यालय शान्ति क्षेत्र भएकाले शिक्षक कर्मचारीहरूलाई यसअघि पनि काठमाडौँ महानगरपालिकाले बन्द हडताल नगर्न चेतावनी दिँदै आएको थियो । कर्मचारी बन्द हडतालमा उत्रिएको खण्डमा सेवाबाट बर्खास्त गर्ने चेतावनी पनि महानगरले दिएको थियो ।