काठमाडौं । नेपाल राष्ट्र बैंकले छ वर्षे अवधिको नौ अर्ब ६४ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार मंगलबार अपराह्न तीन बजेसम्ममा बोलकबोलको माध्यमद्वारा विकास ऋणपत्र २०८६ ‘ठ’ (६ वर्षे) बिक्री गरिएको हो ।
सरकारको तर्फबाट नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागद्वारा निष्काशन गरिएको ऋणपत्रको निष्काशन मिति २०८० असोज चार गते तोकिएको छ भने ऋणपत्रको परिपक्व हुुने अर्थात् सावाँ भुक्तानी हुने मिति२०८६ असोज चार गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरूपमा सहभागी भएर उक्त ऋणपत्र खरिद गरेको बैंकले जनाएको छ । खरिदको लागि छुट्याइएको कुल ऋणपत्रमध्ये प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब १९ करोड चार लाख र एक अर्ब ४४ करोड छ रुपैयाँ छुट्याइएको थियो ।
खरिद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधीनमा रहेर खरिद गर्न सक्ने व्यवस्था तोकिएको थियो । राष्ट्र बैंकका अनुसार यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाकोरूपमा मात्र भाग लिन व्यवस्था रहेको थियो । यस बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले अप्रतिस्पर्र्धीको रूपमा भाग लिन नपाउने व्यवस्था तोकिएको थियो । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत हुने बताइएको छ ।