काठमाडौं । नाजुक आर्थिक अवस्थाको कारण कर्मचारीलाई तलबसमेत दिन नसकिरहेको ललितपुरको स्टार हस्पिटललाई सेयर निष्कासनको अनुमति दिइएको छ । ललितपुरको सानेपा हाइट रिङरोडमा रहेकोे उक्त स्टार हस्पिटलले छ महिनादेखि कर्मचारीलाई तलब खुवाउन सकेको छैन । आर्थिकरुपमा करिब–करिब टाट उल्टिने अवस्थामा पुगेकोे उक्त हस्पिटललाई आईपीओ निष्कासन अनुमति दिएपछि त्यसको प्रक्रिया अगाडि बढाउन मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
कोरोना महामारीअघि नै समस्या रहेको हस्पिटलका अध्यक्ष तथा पूर्वबैंकर किशोर महर्जनले बैंकका सीईओहरुसँग हारगुहार मागेर कोरोनाकालमा पीसीआर परीक्षणको नाममा करोडौँ रुपैयाँ संकलन गरेका थिए ।
महर्जन थरकी महिलाको नाममा उक्त रकम संकलन गरेर हस्पिटललाई नदिई एक्लै खान खोजेपछि भएको विवादमा महर्जनलाई अध्यक्ष पदबाट अपदस्थ गरिएको थियो र पछि मिलापत्र गरेर फेरि अध्यक्ष बनाइयो । तर पनि हस्पिटलको आर्थिक अवस्था सुध्रनु सकेको छैन ।
हस्पिटलले ४० करोड रुपैयाँ सेयर पुँजीबराबरको एक सय रुपैयाँ अंकित दरको ४० लाख कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । करिब ६९ करोड चुक्ता पुँजी भएको हस्पिटलसँग २५ प्रतिशत अग्राधिकार सेयरसहित ८५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । आईपीओ जारी गरेसँगै केही संस्थागत लगानीकर्ता, बीमा कम्पनी, प्राइभेट इक्विटी कम्पनी तथा निजी संस्थागत लगानीकर्ताहरु समेतको गरी चुक्ता पुँजी २ अर्ब रुपैयाँभन्दा बढी हुने कम्पनीले जनाएको छ ।
थप पुँजी लगानीबाट हस्पिटलले आधुनिक उपकरणसहित नयाँ उपचार सेवाका विधाहरु क्यान्सर, आइभीएफ सेवा र देशका विभिन्न स्थानहरुमा उपचार सेवा केन्द्र विस्तार गर्ने योजना बनाएको अस्पतालले जनाएको छ ।