काठमाडौं । बीमा क्षेत्रमा प्रत्यक्ष रोजगारी पाउनेहरूको संख्या घट्दै गएको देखिएको छ । बीमा क्षेत्रलाई वित्तीयरूपमा सबल र सक्षम बनाउने भन्दै नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार पछिल्लो समय आधा दर्जनभन्दा बढी बीमा कम्पनीहरू मर्जर तथा प्राप्तिमा सामेल भई एकीकृत कारोबार गरेपछि बीमा क्षेत्रमा प्रत्यक्ष रोजगारीको संख्या घट्दै गएको हो ।
प्राधिकरणकै निर्देशनअनुसार आईएमई इन्स्योरेन्स र प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनी गाभिएर आईएमई प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनी, युनाइटेड र अजोड इन्स्योरेन्स गाभिएर युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी, हिमालयन र एभरेष्ट इन्स्योरेन्स कम्पनी एक भएर हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी, सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स मर्ज भएर सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी, सूर्य लाइफ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी मर्जर भएर सूर्य ज्योति लाइफ इन्स्योेरेन्स कम्पनी भएका छन् । यसरी ठूलो संख्यामा बीमा कम्पनीहरू मर्जर हुँदा ती कम्पनीहरूलाई अनावश्यक कर्मचारीहरू कटौती गर्न स्वैच्छिक अवकाश, शाखा समायोजन गर्ने नाममा कर्मचारीहरूलाई अतिरिक्त सुविधा दिएर सेवाबाट हटाउनेलगायतका काम गर्दा पछिल्लो समय बीमा क्षेत्रमा प्रत्यक्ष रोजगारी पाउनेको संख्या घट्दै गएको हो ।
नेपाली बीमा क्षेत्रमा अहिले जीवन बीमातर्फ १४ वटा, निर्जीवन बीमातर्फ १४ वटा, पुनर्बीमातर्फ दुईवटा र लघुबीमातर्फ चारवटा समेत गरी कुल ३४ वटा बीमा कम्पनीहरूले कारोबार सञ्चालन गर्दै आएका छन् । सोमध्ये जीवन र निर्जीवन बीमा कम्पनीहरूमा मात्र प्रत्यक्ष रोजगारी पाउनेहरूको संख्या आर्थिक वर्ष २०७९/८० मा जम्मा ११ हजार चार सय ९६ रहेको छ । प्राधिकरणका अनुसार यो संख्या अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा चार दशमलव ४५ प्रतिशतले कम हो । अघिल्लो वर्ष बीमा कम्पनीमा प्रत्यक्ष रोजगारी पाउनेको संख्या १२ हजार ३१ थियो । यसैगरी पछिल्लो समय बीमा क्षेत्रमा प्रत्यक्ष रोजगारीसँगै बीमा अभिकर्ता र सर्भेयरको संख्या पनि घट्दै गएको छ । आर्थिक वर्ष २०७८/७९ जीवन र निर्जीवन दुबैमा गरी दुई लाख ९६ हजार चार सय तीन जना अभिकर्ता थिए । तर, अहिले यो संख्या छ दशमलव ३३ प्रतिशतले घटेर दुई लाख ७७ हजार छ सय २५ जनामा खुम्चिएको छ । बीमा सर्भेयरको संख्या पनि पछिल्लो अवधिमा घटेर एक हजार दुई सय १७ जनामा सीमित भएको छ । यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा एक दशमलव ८५ प्रतिशतले कम हो । प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७८/७९ मा बीमा सर्भेयरको कुल संख्या एक हजार दुई सय ४० थियो ।