काठमाडौं । विस एचआर सोलुसन प्रालि(मेनपावर)ले वैदेशिक रोजगारीमा पठाउने भन्दै ४३ जनासँग झण्डै चार करोड रुपैयाँ ठगी गरेको पाइएको छ । सोलुसनले ४३ जनाको समूहलाई पोल्याण्ड, क्रोएसिया, जापान, कतार तथा अमेरिकालगायतका मुलुकमा वैदेशिक रोजगारीमा पठाउने भन्दै तीन करोड ८२ लाख २८ हजार चार सय ९८ रुपैयाँ ठगी गरेको पाइएको हो ।
सोलुसनको सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामी, अमृत श्रेष्ठ तथा कर्मचारी रमेश कोइराला भनिने फडिन्द्र कोइराला समेतको मिलमतोमा सरिता भुजेललगायतका ४३ जनालाई वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गरेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । ठगी गरेको पाइएसँगै विभागले उक्त मेनपावरको इजाजतपत्र खारेज गरी कारबाही प्रक्रिया समेत अघि बढाएको छ । ठगी गरेको आरोपमा विभागले म्यानपावर कम्पनीका सञ्चालकसहित पाँच जनाविरुद्ध वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दा दायर गरेको छ । उनीहरूसँग पीडितले तिरेको रकम र हर्जना रकमसमेत गरी तीन करोड ८२ लाख २८ हजार ४९८ रुपैयाँ बिगो माग गरिएको विभागका निर्देशक कविराज उप्रेतीले जानकारी दिए । म्यानपावर सञ्चालक र कर्मचारीले विदेश पठाइदिन्छु भनेर विभिन्न व्यक्तिसँग एक लाखदेखि ४० लाख रुपैयाँसम्म ठगी गरेको विभागले जनाएको छ ।
विभागले म्यानपावर कम्पनीको इजाजतपत्र खारेज गर्न र पीडितबाट लिएको रकम र उक्त रकमको ५० प्रतिशत हर्जना रकम थप गरेर फिर्ता गर्न मागदाबी गरेको छ । त्यस्तै, प्रतिवादीलाई तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षदेखि सात वर्षसम्म कैद सजाय पनि माग दाबी गरेको छ । मेनपावरले वैदेशिक रोजगारीमा जाने भन्दै मोटो रकम उठाई ठगी गर्दै आएको पाइन्छ । विभागका अनुसार एक हजार पाँच सय १६ वटा मेनपावर मुलुकभर रहेका छन् । तीमध्ये करिब ९० प्रतिशत सञ्चालनमा रहेका छन् भने बाँकी ठगी, नवीकरण नगर्नेलगायतका कारण कारोबार बन्द गरिएको विभागले जनाएको छ । धेरैजसो मेनपावरले विदेश पठाउने भन्दै युवालाई ठगी गरेको पाइन्छ ।
विभागले गत साता मात्रै युवालाई ठगी गरेको आरोपमा दुई मेनपावरको इजाजपत्र खारेज गरेको थियो । इजाजतपत्र खारेज हुनेमा युनाइटेड मेनपावरले (इजाजतपत्र नम्बर ९८८–०६७/६८) र युरो एसिया एचआर सोलुसन प्रालि (इजाजतपत्र नम्बर ११६२–२०७३/७४) रहेको छ । उनीहरूले युवालाई विदेश पठाउने भन्दै मोटो रकम ठगी गरेको थिए । ती मेनपावरविरुद्ध मुद्धा पनि न्यायाधीकरणमा दायर गरिएको छ ।