काठमाडौं । शिक्षा विधेयकविरूद्धमा शुक्रबार पनि काठमाडौंको माइतीघर मण्डलदेखि बानेश्वरसम्म शिक्षकहरूले आन्दोलन गरेका छन्। शिक्षकहरू समूह-समूह बनाएर आन्दोलन गर्दै बानेश्वर पुगेका छन् भने कोही शिक्षकहरू सडकमै नाचगानमा व्यस्त देखिन्छन् । शिक्षकहरूको जायज माग पूरा गर भन्दै विद्यार्थी संगठनले पनि ऐक्यवद्धता जनाएको छ।
विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले अघि सारेको १७ बुँदे माग पूरा गर्न भन्दै शिक्षकहरूले असोज ३ गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका हुन् ।
बिहीबार साँझ आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता भए पनि बिनानिश्कर्ष वार्ता टुंगिएको थियो। आज शुक्रबार पनि वार्ता बस्ने भनिएको छ । शिक्षकहरूले सरकारले संसदमा दर्ता गरेको शिक्षा विधेयकको विरोध गर्दै अनिश्चितकालीन आन्दोलन सुरू गरेका हुन्।
काठमाडौं उपत्यकाको यातायात सेवा उनीहरुको प्रदर्शनका कारण प्रभावित भएको छ । शिक्षकहरुले प्रदर्शनकै क्रममा सडकमै नाचगान गरी रमाइलो गरेका छन्।