महेन्द्र शाही
सोलुखुम्बु, वैशाख २४
जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले २०७६ सालको अन्तिम महिना चैत्रमा ८५ हजार मात्र राजस्व संकलन गरेको छ । जिल्लाभित्रका विभिन्न स्थानबाट एक सय २१ वटा सवारी कारबाहीबाट सोबराबरको राजस्व संकलन भएको हो । लकडाउनका कारण सवारी साधनको आवतजावतमा कमी आएकाले राजस्व संकलनमा कमी आएको जनाइएको छ ।
लकडाउनका कारण सवारी साधन कम चलेकाले कारबाही र राजस्व रकममा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुका इन्चार्ज कृष्ण कटुवालले जानकारी दिए । चैत महिनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले ३९ वटा जिपबाट २३ हजार पाँच सय राजस्व संकलन गरेको छ । त्यस्तै चैत महिनामा ३० वटा ट्रक कारबाहीमा परेको र सोबापत २१ हजार पाँच सय राजस्व संकलन भएको कटुवालको भनाइ छ । त्यस्तै चैत्र महिनामा २८ वटा मोटरसाइकल कारबाहीबाट २२ हजार, २२ वटा ट्याक्टर कारबाहीबाट छ हजार, अटो १४ वटा बाट ११ हजार र बस एक बाट एक हजार राजस्व संकलन भएको ट्राफिक प्रहरीको भनाइ छ ।
चैत्र महिनाको जम्मा नौ दिनमा मात्र सवारी साधन कारबाही गरिएको थियो । त्यसपछिको समयमा लकडाउन गरिएकाले कारबाही र राजस्व दुवैमा कमी आएको ट्राफिक प्रहरीको भनाइ छ । ९ गतेपछि कुनै पनि लकडाउनका कारण कुनै पनि सवारी कारबाहीमा परेका छैनन् । ट्राफिक प्रहरीले फागुन महिनामा दुई सय १२ वटा सवारी साधानलाई कारबाही गरी एक लाख ४५ हजार पाँच सय राजस्व संकलन गरेको थियो । चैत महिनामा फागुन महिनाको भन्दा ६० हजार पाँच सय कम राजस्व संकलन भएको ट्राफिक प्रहरी इन्चार्ज कटुवालको भनाइ छ ।