काठमाडौँ । संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना तथा सञ्चार प्रविधि भएकाले सबै सरोकारवालाको ध्यान सूचना प्रविधिको विकासमा हुनुपर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएकी छिन् ।
शुक्रबार ‘नेपालमा दिगो रोजगारी आर्थिक वृद्धिका लागि सञ्चार क्षेत्रको सुदृढीकरण’ विषयक सामाजिक संवादका अवसरमा उनले सूचना प्रविधिको विकासका लागि सरकार र निजी क्षेत्र सँगसँगै अगाडि बढ्नुपर्नेमा जोड दिइन् ।
“सरकारले चालु आर्थिक वर्षको बजेटबाटै आत्मनिर्भर अर्थतन्त्रको आधारः स्वदेशमै उत्पादन र रोजगार भन्ने नाराका साथ सूचना प्रविधि क्षेत्रलाई पनि समेटेर सबै स्थानीय तहमा राष्ट्रिय उत्पादन र रोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिसकेको छ”, उनले भनिन् ।
मन्त्री शर्माले सूचना तथा सञ्चार प्रविधिको विकासका लागि सरकारले नीति, कानुन र पूर्वाधार निर्माणका क्षेत्रमा काम गर्ने उल्लेख गर्दै उनले निजी क्षेत्रले लगानी बढाउनुपर्ने बताइन् । मन्त्री शर्माले सूचना प्रविधिमा आधारित उत्पादन वृद्धि र रोजगार प्रवर्द्धनका लागि सङ्घीय सरकारले कानुन, पूर्वाधार र जनशक्ति उत्पादनमा ध्यान केन्द्रित भएको बताइन् ।
पूर्वाधारको पहिलो सर्त ‘कनेक्टिभिटी’ भएकाले मुलुकभर द्रुत गतिको इन्टरनेटको पहुँच विस्तार गर्दै सूचना प्रविधि ज्ञान पार्क स्थापना गर्न सकियो भने देशका जुनसुकै ठाउँमा बसेर पनि सूचना प्रविधिमा आधारित उद्यम सञ्चालन गर्न सकिने उनको भनाइ छ ।
उनले सरकारले चालु आवको बजेटदेखि पुँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने, सूचना प्रविधिको उद्योगमा वैदेशिक लगानीको सीमा हटाउने, देशभित्रै बसेर सूचना प्रविधिको सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिलाई विदेशी मुद्रामा प्राप्त गरेको आयमा लाग्ने करमा ५० प्रतिशत छुट दिनेलगायतका व्यवस्था गरिएको पनि जानकारी दिइन् ।