हेटौडा, वैशाख २४
देशभर कोरोनाको संक्रमित बढेसँगै मकवानपुरमा पनि मंगलबारदेखि लकडाउनमा थप कडाइ गरिएको छ । साथै मकवानपुरमा प्रवेश गर्नुपरेमा अनिवार्य पीसीआर परीक्षण गनुपर्ने भएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले यसअघि बाहिरी जिल्लाबाट आउनेको -यापिड टेस्ट गर्ने गरिएको भए पनि अब पीसीआर परीक्षणपछि मात्रै जिल्ला भित्रिन पाउने निर्णय गरेको बताए । साथै अत्यावश्यक सामग्री ढुवानीबाहेकका सबै सवारी साधनलाइ मकवानपुरमा प्रवेश गर्न रोक लागाउने निर्णय गरिएको छ ।
यो निर्णयले हेटौडा हुँदै रातारात काठमाडौँ प्रवेश गर्ने बसहरू रोकिने भएका छन् । मकवानपुर जिल्ला औधोगीक नगरी पनि भएकोले यहाका उद्योग सञ्चालनलगायत विकास निर्माण र कृषि कार्यको लागि अति आवश्यक मानिस आउनु परेमा पनि अनिवार्य पीसीआर परीक्षण गरी प्रवेश दिइने प्रमुख खुलालले बताए ।
पासको दुरूपयोग रोक्न विकास निर्माणमा प्रयोग हुने सवारी साधनलाई सिफारिस दिँदा स्थानीय तहको प्रमुख वा प्रशासकीय अधिकृतले मात्र दिनुपर्ने निर्णय गरिएको छ । सिफारिस गर्दा सत्यतथ्य बुझी सवारी साधनको नम्बर, कामको प्रकृति र प्रयोजनसमेत खुलाई त्यसको जानकारी जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यलयमा समेत अनिवार्य जानकारी गराउनुपर्ने प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताए ।