काठमाडौं । २०७६ सालको अन्त्यतिरबाट नेपालमा कोभिड–१९ महामारी फैलिएको थियो । महामारीले विश्वको अर्थतन्त्रमा संकुचन आयो । आम नागरिकको दैनिकी घर र बन्द कोठामा सीमित हुँदा वस्तु तथा सेवा उपभोगमा कमी आयो । यसले विश्वभर ठूलो संख्यामा उत्पादन र रोजगारीमा कटौती भयो । यसको प्रत्यक्ष मार नेपालजस्तो मुलुक जसको अर्थतन्त्र रेमिट्यान्सको भरमा चलेको छ, उनीहरूलाई प-यो । अर्थतन्त्रको अवस्थालाई ध्यानमा राखेर विदेशी मुद्रा जोगाउन तत्कालीन समयमा नेपाल राष्ट्र बैंकले सुनको दैनिक आयात कोटा १० केजीमा झारेको थियो ।
राष्ट्र बैंकले त्यो समयमा परिपत्रमार्फत भनेको थियो, ‘सुन आयात तथा वितरणसम्बन्धी कार्यविधि २०६८ को दफा ४ को (क) लाई संशोधन गर्दै आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई १० किलोग्राम कायम गरिएको छ ।’ तत्कालीन समयको सोही परिपत्रको आधारमा वाणिज्य बैंकहरूले दैनिक १० केजीको दरमा सुनको आयात गर्न थाले ।
दैनिक १० केजी सुनको आयात कोटाले वर्तमान बजारलाई नपुग्ने भन्दै सुनचाँदी व्यवसायीहरूले आवाज उठाएका थिए । तर, राष्ट्र बैंकले कोभिड–१९ का कारण कमजोर बनेको अर्थतन्त्रलाई थप कमजोर बन्न नदिनको लागि पनि सुनको दैनिक आयात बढाउन चाहेन । त्यसपछि राष्ट्र बैंकले विसं २०७७ चैत्र १९ गते सुन आयातसम्बन्धी अर्को परिपत्र जारी ग¥यो । परिपत्रमार्फत राष्ट्र बैंकले भन्यो, ‘सुन आयात तथा बिक्रीवितवरणसम्बन्धी कार्यधिी २०६८ को बुँदा नं ४ (क) लाई संशोधन गर्दै आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई २० किलोग्राम कायम गरिएको छ ।’
सुनको दैनिक आयात कोटा बढाएपछि केही हदसम्म सुन व्यवसायीहरू खुसी भए । सुनचाँदीको बजार चलायनमान भयो । यहीबीचमा रुस–युक्रेन युद्धले फेरि विश्व अर्थतन्त्र प्रभावित भयो । नेपालको अर्थतन्त्रमा पनि असर देखियो । राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चितिमा दबाब भएको महसुस ग¥यो । त्यसपछि राष्ट्र बैंकले २०७८ चैत २२ गते पुनः सुनको दैनिक आयात कोटालाई १० केजीमा झा-यो । यो व्यवस्था अहिलेसम्म पनि कायम नै छ । यही व्यवस्थाबमोजिम वाणिज्य बैंकहरूले आजको दिनसम्म पनि दैनिक १० केजीकै दरमा सुन आयात गर्दै आएका छन् ।
राष्ट्र बैंकले अब भने सुनको दैनिक आयात कोटा बढाउने भएको छ । बजारको माग व्यवसायीहरूको आग्रह र अर्थतन्त्रको अवस्था समेतलाई हेरेर राष्ट्र बैंकले सुनको दैनिक आयात कोटा बढाउने लागेको हो । ‘सुनको दैनिक आयात कोटा बढ्छ, यस विषयमा राष्ट्र बैंकले एउटा निर्णय गरिसकेको छ, तर कति बढ्छ भन्ने कुरा परिपत्र जारी भएपछि मात्र थाहा हुन्छ’, राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले भने ।
उनले सोमबारसम्म सुनको दैनिक आयात कोटासम्बन्धी परिपत्र जारी हुने जानकारी दिए । त्यही परिपत्रमार्फत सुनको दैनिक आयात कोटा २० केजी अथवा त्योभन्दा केही कम तोकिन्छ त्यतिबेला नै थाहा हुने उनको भनाइ छ । राष्ट्र बैंकको काम सुनको माग र आपूर्तिमा तालमेल मिलाउने नभएको भन्दै उनले भने, ‘राष्ट्र बैंकको काम भनेको विदेशी मुद्राको सञ्चितिलाई सहजरूपमा राख्ने र सुनको दैनिक आयात कोटा तोक्ने हो, राष्ट्र बैंकले त्यही काम गरेको छ । बजारमा सुनको मागको अवस्था कस्तो, आपूर्तिको अवस्था कस्तो छ ? कसरी सुनको बजार चलेको छ ? त्यसको बारेमा राष्ट्र बैंकले क्लोज्ली हेर्दैन ।’
नेपालमा अहिले सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १६ वटा वाणिज्य बैंकले सुनको आयात गर्दै आएका छन् । एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, स्टान्डर्ड चार्टर्ड बैंक र हिमालयन बैंकले सुन आयात गर्दैनन् । नेपाल बैंकर्स संघले दिएको सिफारिसको आधारमा बैंकहरूले सुन आयात गर्छन् । सुन ल्याउन अनुमति पाएकामध्ये एउटा बैंकले एक पटकमा (पुरानो परिपत्रअनुसार) आफ्नो पालोमा ५० केजीको दरमा सुन ल्याउन पाउँछ । यसरी दैनिकरूपमा ल्याएको १० केजी सुनमध्ये बागमती प्रदेशको लागि पाँच केजी सुनको कोटा छुट्याइएको छ । बाँकी पाँच केजी भने बाँकी रहेका छवटा प्रदेशमा छुट्याएको एसोसिएसनले जानकारी दिएको छ ।