काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले गैरसरकारी सङ्घसंस्थालाई दिगो विकासका लक्ष्यअनुसार कार्यक्रम तर्जुमा गर्न आग्रह गरेका छन् । ४४औँ सामाजिक सेवा दिवसका अवसरमा समाजकल्याण परिषद्ले आयोजना गरेको कार्यक्रममा उनले गैरसरकारी सङ्घसंस्थालाई आफ्ना कार्यक्रममा दिगो विकासका लक्ष्यलाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन् ।
दिगो विकासका लक्ष्य राष्ट्रिय नीति, योजनामा एकीकृत गरिएको उनले बताए । गैरसरकारी संस्थालाई प्राथमिकता प्राप्त क्षेत्रमा परिचालन गर्ने गरी अनुगमन एवम् प्रभावकारी बनाइने चालू नीति तथा कार्यक्रममै उल्लेख गरिएको उनको भनाइ छ । यसलाई कार्यान्वयन गर्दै दिगो विकासका लक्ष्य र आवधिक योजनाले तय गरेको रणनीति, कार्यविधिलाई हासिल गर्ने गरी कार्यक्रम तर्जुमा गर्न उनले आग्रह गरे । परिषद्ले सीमित स्रोतसाधन, पूर्वाधार एवम् जनशक्तिबाट समग्र गैरसरकारी सङ्घसंस्थाका निमित्त अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने अवस्था रहेको बताउँदै उनले परिषद्को आन्तरिक सुशासनलाई बलियो बनाई सामाजिक संस्थाले पारदर्शिता, परियोजनाको कार्यकुशलता, प्रभावकारितामा ध्यान पु-याउन आवश्यकता रहेको उल्लेख गरे ।
मन्त्री आचार्यले गैरसरकारी क्षेत्रबाट हुने सबै कामकारबाहीलाई सरकारको एकद्वार नीतिअनुरूप समाजकल्याण परिषद्मार्फत सञ्चालन गर्ने गरी काम गर्न सम्बन्धित पक्षलाई अनुरोध समेत गरे । कार्यक्रममा परिषद्का उपाध्यक्ष मनिका भट्टराई अधिकारीले परिषद््ले स्थापनाकालदेखि नै नेपाल र नेपालीको सर्वाङ्गीण हितका लागि समाजका असहाय, सिमान्तकृत, पिछडिएको क्षेत्र, वर्ग, समुदायलाई विकासका कार्यक्रममा सम्बद्ध गराई सामाजिक न्यायका लागि काम गर्दै आइरहेको बताइन् । परिषद्का सदस्य सचिव मनोज भट्टले गैरसरकारी क्षेत्रलाई सङ्गठितरूपमा सञ्चालन गर्न २०३४ साल असोज ६ गते स्थापना भएको दिनको अवसरमा सामाजिक सेवा दिवस मनाउँदै आएको बताए । स्वास्थ्य, शिक्षा, सीप विकास, सशक्तीकरण, बालसंरक्षण, विपद् व्यवस्थापन, पुनःस्थापना, वन्यजन्तु संरक्षण, जलवायु परिवर्तनलगायतका दिगो विकास लक्ष्य प्राथमिकता प्राप्त विषयगत क्षेत्रमा परिषद्ले लगानी गरिरहेको उनको भनाइ थियो ।
गैरसरकारी संस्था महासङ्घका महासचिव राजेन्द्र शर्माले गैरसरकारी सङ्घसंस्था परिचालन तथा व्यवस्थित गर्न एकीकृत ऐन आवश्यक रहेको बताउँदै दिगो विकासका लक्ष्य हासिल गर्न सम्बन्धित निकायबीच सहकार्य र समन्वय बढाउनुपर्ने बताए । यस्तै, लोकतान्त्रिक गैरसरकारी महासङ्घका अध्यक्ष रमेश धमलाले परिमार्जित गर्नुपर्ने कानुन सरोकारवाला निकायबीच व्यापक छलफल हुनुपर्नेमा जोड दिए । एसोसिएसन अफ इन्टरनेसनल एनजीओ नेपालका अध्यक्ष भगवान् श्रेष्ठले दिगो विकास लक्ष्य हासिल गर्न गैरसरकारी सङ्घसंस्थाको ठूलो भूमिका रहेको बताए । कार्यक्रममा मन्त्री आचार्यले परिषद्को वार्षिक प्रतिवेदन सार्वजनिक गरेका थिए । परिषद्मा लामो समयसम्म काम गर्ने कर्मचारीलाई सोही समारोहमा सम्मान समेत गरिएको थियो । यस वर्षको दिवसको नारा ‘दिगो विकास राष्ट्रिय प्रतिबद्धता, लक्ष्य प्राप्तिमा सङ्घसस्थाको सहभागिता’ रहेको छ ।