काठमाडौं । आइतबार र सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा नेपाली कांग्रेसको भातृसंस्थाका रुपमा रहेको संघको महाअधिवेशन हुन लागेको छ । आइतबार नेपाल मुस्लिम संघको तेस्रो केन्द्रीय महाधिवेशन हुने भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले दुई दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन आइतबार दिउँसो २ बजे गर्ने संघका कार्यवहाक अध्यक्ष अतावुल मन्सुरले बताए । सभापति देउवासहित पार्टीका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा, गगनकुमार थापा, सहमहामन्त्री फर्मुल्लाह मन्सुर लगायतका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको उद्घाटन कार्यक्रममा सहभागिता रहने संघले जनाएको छ ।
२०६५ सालमा कांग्रेस नेता अब्दुल सत्तारको नेतृत्वमा गठन भएको मुस्लिम संघले २०६६ सालमा पार्टीको भातृ संस्थाको मान्यता पाएको थियो । संघका अध्यक्ष अब्दुल सत्तार पार्टीको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उपाध्यक्ष रहेका अतावुल मन्सुरलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका थिए ।
महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । महाधिवेशनमा जिल्ला सभापति र सचिव समेत पदेन प्रतिनिधिका रुपमा सहभागी हुने संघले जनाएको छ । महाधिवेशनमा ४१ जिल्ला र सातै प्रदेशबाट ४ सय २५ जना प्रतिनिधी सहभागी हुनेछन् ।