काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुखलाई आफ्नो कर्तव्य तथा जिम्मेवारी इमान्दारी साथ बहन गरी जवाफदेही भएर काम गर्न निर्देशन दिएका छन् ।
नेपाल बीमा प्राधिकरणबाट बिहीबार वीरगञ्जमा आयोजित बीमा कम्पनीका प्रदेश र शाखा कार्यालयका प्रमुख तथा प्रतिनिधिसँगको अन्तत्र्रिmया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले प्रत्यायोजित अधिकार प्रभावकारी किसिमले पूर्णरूपमा कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । अध्यक्ष सिलवालले भने, ‘बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख र कर्मचारीले लक्ष्यमा मात्र ध्यान नदिई गुणस्तरमा पनि ध्यान दिनुपर्छ, जोखिमाङ्कन राम्रोसँग गर्नुपर्छ, कानुन, नियम, निर्देशिका र निर्देशनहरू पूर्णरूपमा पालना गर्नुपर्छ, कानुन, नियम, निर्देशिकाविपरीत कार्य गरेमा अबको कारबाही स्थानीय कर्मचारीसम्म पुग्छ, सजक भएर काम गर्नुहोला ।’
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले उधारो बीमा निर्जीवन बीमामा मात्र नभई जीवन बीमामा समेत पाइएको उल्लेख गर्दै उधारो बीमा नगर्न र बीमितिको विश्वास जित्ने गरी काम गर्न बीमा कम्पनीका प्रदेश तथा शाखा प्रमुखहरूलाई निर्देशन दिए ।
कार्यक्रममा बीमा कम्पनीका प्रदेश र शाखा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले बीमा अभिकर्ता एक बीमकबाट अर्कोमा जानपाउने प्रावधानबाट असहजता भोग्नुपरेको, सम्पत्ति बीमामा उच्च र न्यून जोखिम दुवैलाई एकै किसिमको बीमादर रहेको गुनासो रहेको, जीवन बीमालेखबाट बीमा कर्जा लिन कठिन भएको, लघुबीमामा टिकट दस्तुर बढी भएको, लघुबीमामा नयाँ बीमालेखको अभाव देखिएकोलगायतका धारणा राखेका थिए । कार्यक्रममा उठेका प्रश्नहरूको जवाफमा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा अभिकर्ताको प्रणाली निर्माणको क्रममा रहेको जानकारी दिँदै प्राधिकरणबाट जारी निर्देशिकाबमोजिम काम गर्न निर्देशन दिए ।
नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले सञ्चालन गरेको कार्यक्रममा रिलायबल नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी, नेको इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्का, जीवनबीमा कम्पनी र निर्जीवन बीमा कम्पनीका प्रदेश र शाखा कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।