काठमाडौँ । बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी र लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
नगरपालिका-८ कचोर्वास्थित जनता मा.वि.को भवन निर्माणमा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत मरासेनी र लेखा अधिकृत चौधरीले अनियमितता गरेको आरोपमा आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार उनीहरुले स्वीकृत रकमभन्दा रु. छ लाख ५८ हजार चार सय ४० दशमलव १६ पैसा बढी भुक्तानी दिएको आयोगको आरोप छ । प्राविधिकले तयार गरेको मूल्याङकन र भुक्तानीका लागि स्वीकृत टिप्पणीमा उल्लेखिभन्दा बढी रकम उपभोक्ता समितिलाई भुक्तानी दिएर अनियमिमता गरेको आरोपमा उनीहरुविरुद्ध मुद्धा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालको भनाइ छ ।
आयोगले उपभोक्ता समितिका अध्यक्ष रामबाबुप्रसाद यादव, सचिव रामाकान्त प्रसाद र कोषाध्यक्ष किरणदेवी यादवविरुद्ध उनीहरुले उपभोक्ता समितिको बैंक खाता सञ्चालन गरेको एवं नगरपालिकासँग भएको सम्झौता बमोजिमको शर्त पालना नगरी, भुक्तानीका लागि स्वीकृत भएभन्दा बढी तथा निर्माणमा परिमाणभन्दा बढी भुक्तानी लिएको भन्दै मुद्दा दायर गरेको हो ।