काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक गरेको छ । राष्ट्र बैंकको टक्सार महाशाखाले आइतबारदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’को बिक्रीवितरण सुरु गरेको हो ।
बबरमहलस्थित टक्सार महाशाखामा आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गरेका हुन् । महाशाखाले १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का टकमरी गरी बिक्री सुरु गरेको हो । १० ग्राम सिक्काको एक हजार छ सय रुपैयाँ र २५ ग्राम सिक्काको चार हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ । बैंकसँग मौज्दात रहेको चाँदीलाई गलान गरी मेडालियन सिक्का टकमरी गरिएको जानकारी टक्सार महाशाखाले दिएको छ । दुवै सिक्कामा नौ सय ९९ टचको चाँदीको प्रयोग गरिएको छ ।
राष्ट्र बैंकका अनुसार दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ‘मेडालियन’ भनिन्छ । सर्वसाधारणबाट हुने सिक्काको मागलाई दृष्टिगत गरी यसको टकमरीलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ । बैंक सञ्चालक समितिको २०८० जेठ १९ गते बसेको बैठकले उक्त १० ग्राम र २५ ग्रामका मेडालियन सिक्काको टकमरी गर्न स्वीकृति दिएको थियो ।