काठमाडौं । प्रधनमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा अझै धेरै क्षेत्र लगानीका लागि आकर्षक रहेको भन्दै चिनियाँ उद्योगी÷व्यवसायीलाई लगानीका लागि आग्रह गरेका छन् । उनले नेपालमा लगानीको वातावरण सुधार हुँदै गएको जिकिर पनि गरेका छन् । यद्यपि नेपालमा उद्योग स्थानपनाका लागि अझै धेरै कानुनी झन्झट र झमेलाहरू छन् । ती झन्झट र झमेला हटाउन सरकारले नसकेको कारण लगानीकर्ताहरू आकर्षित हुन सकेका छैनन् ।
नेपालमा विदेशी लगानी ल्याउने उद्योगीलाई करलगायतका क्षेत्रमा भारी छुट दिनुपर्ने देखिन्छ । एउटा निश्चित अवधिका लागि कर छुट दियो भने उद्योग स्थापना हुने र पछि छाडेर जाने समस्या हुनेभएकाले नेपालले विदेशी उद्योगीलाई आकर्षित गर्न कर छुट र लाभांश लैजान सहज बनाउनुपर्ने नेपालका उद्योगीहरूले सरकारलाई बारम्बार सुझाव दिँदै आएका छन् । तर, सरकारले उद्योगीले मागेअनुसार सुविधा दिन सकेको छैन । त्यही भएर नेपालमा विदेशी लगानीकर्ताहरू आकर्षित हुन सकेका छैनन् ।
विदेशी लगानीकर्ताहरूले नेपालमा उद्योग स्थापनाका लागि पर्ख र हेरको अवस्था रहेकै बेला प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सीसीपीआईटी)ले संयुक्तरूपमा आइतबार आयोजना गरेको नेपाल–चीन बिजनेस समिटमा प्रधानमन्त्री दाहालले चिनियाँ पक्षलाई नेपालमा लगानीको वातावरण बनेको दाबी गर्दै लगानीका क्षेत्र पनि धेरै भएको बताएका हुन् । कार्यक्रममा दुवैतर्पmका उच्चपदस्थ अधिकारी र निजी क्षेत्रका प्रतिनिधिहरूले उक्त धारणा राखेका थिए ।
प्रधानमन्त्री दाहालले कुनै पनि मुलुक सरकार र निजी क्षेत्रको सहकार्यविना समृद्ध नहुने बताउँदै त्यसका लागि वातावरण बनाउने प्रतिबद्धता पनि जनाएका थिए । उनले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र प्रवद्र्धनमा सरकार सधैँ तत्पर रहेको बताए । महासंघले लगानी, पर्यटन र निर्यात प्रवद्र्धनमा देशविदेशमा पहल गरिरहेकोमा महासंघको सराहना पनि गरे ।
चीन नेपालमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक रहेको र व्यापारमा दोस्रो ठूलो मुलुक भए पनि दुई देशबीचको व्यापारघाटा चिन्ताको विषय रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो । नेपालका कृषिजन्य उत्पादनहरूको चीनमा बजार रहेकाले व्यापार सहजीकरणका लागि प्रयत्न गर्नुपर्ने समेत प्रधानमन्त्रीको भनाइ थियो ।
सीसीपीआईटीको मुख्यालय बेइजिङमा आइतबार आयोजित समिटलाई सम्बोधन गर्दै चिनियाँ वाणिज्य मन्त्रालयका ‘भाइस मिनिस्टर’ लि फिइले चीन र नेपालबीचको सम्बन्ध निकै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको बताएका थिए । साथै नेपालमा चिनियाँले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी विस्तार हुने बताएका थिए । चीन नेपालमा सबैभन्दा बढी लगानीको प्रतिबद्धता जनाउने मुलुक हो ।
नेपालमा पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न तयार रहेको पनि बताए । यसैगरी उनले नेपालबाट बढीभन्दा बढी वायुसेवा कम्पनीलाई सेवा विस्तार गर्न प्रोत्साहन गर्ने बताए ।
समिटमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका अवसर सिर्जना गर्न, पर्यटन प्रवद्र्धन र निर्यात विस्तारका लागि सरकारले प्रयत्न गरिरहेको बताए ।
कार्यक्रममा महासंघ अध्यक्ष ढकालले जलविद्युत्, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधिलगायतका सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताएका थिए । पछिल्लो समय पर्यटन पूर्वाधारहरू जस्तैः केवलकार, थिम पार्क रिसोर्टलगायतमा विदेशी लगानीको बढी सम्भावना देखिएको ढकालको दाबी थियो । नेपाल चिनियाँ पर्यटकका लागि आकर्षक गन्तव्य भएको बताउँदै अध्यक्ष ढकालले चीन सरकारले नेपाललाई प्राथमिकतामा राख्न पनि आग्रह गरेका थिए ।
सीसीपीआईटीका उपाध्यक्ष झांग साओगांगले महासंघ पुरानो साझेदार संस्था रहेको बताउँदै समिटले द्विपक्षीय व्यापार अभिवृद्धिमा समिट महत्वपूर्ण हुने बताए । सीसीपीआईटी नेपालमा लगानी बढाउन र नेपालका उत्पादन आयात गर्न सीसीपीआईटीले सहयोग प्रदान गर्ने बताए ।
नेपालमा चिनियाँ लगानी अभिवृद्धि, पर्यटन प्रवर्द्धन र चीनतर्फकोे निर्यात सहजीकरणका लागि के गर्न सकिन्छ भन्नेबारेमा उक्त छलफल भएको हो । नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेडले संयुक्तरूपमा उक्त कार्यक्रम आइतबार आयोजना गरेका हुन् ।
उक्त समिटमा एक सय २० जना चिनियाँ कम्पनीको सहभागिता रहेको थियो । नेपालका तर्फबाट महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, राष्ट्रिय उद्योग व्यापार महासंघका पदाधिकारीसहित करिब ५० जना उद्यमी व्यवसायीले समिटमा सहभागिता जनाए । समिटमा चीन सरकारका उच्चपदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी नेपाली उच्च अधिकारीहरूको पनि सहभागिता थियो । उक्त समिटमा पूर्वबिजनेस टु बिजनेस बैठक पनि राखिएको छ ।
यसअघि, महासंघ र सीसीपीआईटीका पदाधिकारीहरूबीच द्विपक्षीय छलफल समेत भएको थियो । जसमा दुई संस्थाबीचको सहकार्य विस्तार, संयुक्त परियोजनाको कार्यान्वयन, नेपाल–चीन लगानी एवं व्यापार सहजीकरणका विषयमा छलफल भएको महासंघद्वारा जारी प्रेसनोटमा उल्लेख छ ।