काठमाडौं । ललितपुरको जाउलाखेल खेल मैदानमा बडादशैं जुत्ता चप्पल व्यापार मेला २०८० आयोजना हुने भएको छ । ‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मुख्य नारासहित असोज १० गतेदेखि कात्तिक ३ गतेसम्म मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
नेपाली जुत्ता चप्पल उत्पादक समूहले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी मेलाका बारेमा जानकारी गराएको हो । मेला संयोजक होमनाथ उपाध्यायका अनुसार मेला वडादशैं पर्व लक्षित भएकाले नयाँ नयाँ डिजाइनका जुत्ताचप्पल आकर्षक मूल्यमा उपलब्ध हुने बताइएको छ । मेलामा नेपालमा चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्राण्डहरूले सहभागिता जनाउने उनले बताए ।
मेलामा रोयल सुज, बिएफ डियर हिल, बिएफ स्पोर्ट, क्रस रोड सुज, फस्टवाक सुज, सिल, हाइ लाइफ, केटीएम, डिजे सुज, बेली सुज, उत्सव र कोसेली सुज गरी ११ वटा कम्पनी र ब्राण्डको सहभागिता रहनेछ । यस्तै, मेलामा तीन हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ताहरू उपलब्ध हुने बताइएको छन् भने नयाँ उत्पादनहरू पनि लञ्च गरिनेछन् । मेला अवधिभर न्यूनतम २० प्रतिशतदेखि कतिपय उत्पादनहरूमा ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत मिलाइने आयोजकले जनाएको छ । निःशुल्क प्रवेशको व्यवस्था गरिएको मेलामा तीन लाख अवलोकनकर्तालाई अवलोकन गराउने लक्ष्य राखिएको छ ।
नेपालमा उत्पादित जुत्ता/चप्पलहरू र स्वदेशी ब्राण्डलाई उपभोक्ताको बीचमा पु-याई उपभोक्तालाई स्वदेशी वस्तु नै प्रयोग गर्ने भावनाको विकास गराउने उद्देश्यले मेला आयोजना गरिएको मेला संयोजक उपाध्यायले बताए । आर्थिक मन्दी र बैंकहरूमा देखिएको आर्थिक तरलता तथा आर्थिक अभावका कारण देशका हरेक क्षेत्रहरू प्रभावित भएको समयमा आयोजना गर्न लागिएको यस मेलाले आर्थिक गतिविधिहरू चलायमान गराउन सघाउने उपाध्यायको भनाइ छ । उनका अनुसार औद्योगिक क्षेत्रहरू चरम आर्थिक संकट व्यहोर्न बाध्य भई उद्योगी व्यवसायीहरूले आत्महत्याको निर्मम बाटो रोज्न थालेका छन् । यस्तो विषम परिस्थितिमा उद्योगी व्यवसायीहरूको मस्तिष्कलाई सकारात्मक बनाउँदै देशको अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउन केही न केही गतिविधिहरू सञ्चालन गर्न आवश्यक रहेकाले मेला आयोजना गरिएको उनले बताए ।
यस्तै, उनले जुत्ता चप्पलको क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउन सकिने बताए । देशको बिग्रँदो आर्थिक अवस्थालाई सुधार गर्न कतिपय वस्तुहरूको आयातलाई नै प्रतिबन्ध लगाउनुपर्ने अवस्थामा विदेशी जुत्ता चप्पलको आयातलाई निरुत्साहित गर्न सकिने उल्लेख गरे । बैंकको चर्को ब्याजदर, अनुभवी तथा अनुशासित श्रमशक्तिको अभाव, अनियन्त्रित चोरी पैठारी, बजारीकरणका समस्या, राजनीतिक अस्थिरताका कारण उत्पन्न हुने नीतिगत समस्यालगायतका कारण यस क्षेत्रले चुनौतीहरूको सामना गर्नुपरेको उनको गुनासो थियो । स्वदेशी उत्पादन मात्र प्रयोग गर्ने भावनाको विकास आम उपभोक्ता र सबै नेपालीहरूमा हुने हो भने देशमा सबै प्रकारका उद्योगहरू खुल्न सक्ने वातावरण बन्ने उनले बताए ।