दमौली (तनहुँ) । तनहुँमा यसवर्ष डेङ्गुको सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना व्यास नगरपालिकाका विभिन्न वडाका रहेका छन् ।
गत असार १६ गते व्यास –१० का ३५ वर्षीय युवा, यही असोज २ गते व्यास–११ का १५ वर्षीय युवा र यही असोज ८ गते व्यास –२ की १३ वर्षीया बालिकाको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको दिएको थियो ।
विगत केही समयदेखि दमौलीमा डेङ्गुको सङ्क्रमण बढ्दो अवस्थामा रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए । कुल बिरामी सङ्ख्या एक हजार छ सयमध्ये एक हजार तीन सय ५० बिरामी नगरपालिकाको रहेको जनाइएको छ ।
अस्पतालमा जनशक्ति कम भएको जानकारीमा आएपछि नगरपालिकाले एक डाक्टर, दुई जना ल्याबका कर्मचारी र दुई जनालाई इमर्जेन्सीमा परिचालन गर्न लागिएको उनले बताए । दमौली अस्पतालमा दैनिक बिरामीको सङ्ख्या बढेपछि नगरपालिकाअन्तर्गतका स्वास्थ्यकर्मीलाई अस्पतालमा खटाइएको छ ।
सोतीले डेङ्गु नियन्त्रण रोकथामका लागि औषधि छर्कनेदेखि स्वास्थ्यसम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । उनले नगरपालिकाले टोल–टोलमा डेङ्गुसम्बन्धी सचेतनासमेत सुरु गरेको बताए । उनले भने, “अहिले प्रत्येक वडा–वडामा स्वास्थ्य सचेतना सञ्चालन भइरहेको छ ।”
जिल्लामा डेङ्गुको सङ्क्रमण बढेकाले स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले सतर्कता अपनाउन आग्रह गरका छन् । डेङ्गु सङ्क्रमित बढेसँगै स्वास्थ्य संस्थामा शय्याको अभाव भएको छ । दमौली अस्पतालमा अधिकांश बिरामी डेङ्गुका छन् ।
दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बरालकाले डेङ्गुबाट बच्नका लागि केहि उपायहरु बताएका छन् । लामखुट्टेको टोकाइबाट जोगिनुपर्दछ । पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सधैं राति र दिउँसो पनि झुलभित्र सुत्ने इत्यादि यसबाट बच्ने प्रमुख उपाय हुन् ।