दोलखा । मुख्य चाडपर्व नजिकिँदै गएपछि जिल्लाको बैतेश्वर गाउँपालिकाले स्थानीय बजार अनुगमनलाई तीव्रता दिएको छ । पालिकाले सोमबार पालिकाको मुख्य व्यापारिक केन्द्र मैनापोखरी बजारमा अनुगमन गरी म्याद गुज्रिएका खाद्यवस्तु नष्ट गरेको हो ।
पालिकाले स्थानीय उद्योग वाणिज्य संघ, इलाका प्रहरी चौकीसँग समन्वय गरेर बजार अनुगमन गरेको थियो । अनुगमनको क्रममा बजारका विभिन्न पसलबाट म्याद गुज्रिएका करिब तीन लाख मूल्य बराबरको खाद्य वस्तु नियन्त्रणमा लिई नष्ट गरिएको गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिए । स्थानीय प्रशासनले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा विनाइजाजत व्यवसाय सञ्चालन गरिरहेका माथि कडाइ सुरु गरेको अध्यक्ष लामाले बताए । गाउँपालिकाका विभिन्न स्थानका बजारमा छड्के अनुगमनलाई तीव्र पारिएको उनले बताए । बजारका धेरैजसो ठूला खाद्यान्न पसलमा म्याद गुज्रिएको सामान फेला परेको गाउँपालिका प्रशासन प्रमुख रवीन्द्र चौलागाईंले बताए । उनका अनुसार म्याद गुज्रिएका सामानमा मदिरा, कोकाकोला, खाने तेल, दालमोट, आटा पिठो, भुजिया, बिस्कुट, चकलेट, चिजबल, बियर, चियापत्ति, कफी, दाल, चामललगायत रहेका छन् । म्याद गुज्रिएको सामान नियन्त्रणमा लिएर सोमबार नै नियन्त्रणमा लिएको अखाद्य वस्तु जलाएर नष्ट गरिएको उनले जानकारी दिए ।
अनुगमनमा बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामा, उपाध्यक्ष कल्पना उप्रेती, वडा अध्यक्षहरू कुमार चौलागाईं, भुवन घिमिरे र शान्तबहादुर जिरेल, कार्यपालिका सदस्य ठूलीकान्छी बिक, पालिका प्रशासन प्रमुख रवीन्द्र चौलागाईं, सूचना अधिकृत रोशनकुमार गिरी, ईलाका प्रहरी कार्यालय मैनापोखरीका इन्चार्ज नारायण प्रसाद ढकाल, उद्योग वाणिज्य संघ मैनापोखरी शाखाका अध्यक्ष राजनकुमार दाहाललगायत सहभागी थिए । अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिने पालिकाले जनाएको छ ।