काठमाडौं, वैशाख २४
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना भाइरसका कारण लकडाउन भएपछि दैनिक ज्याला मजदुरी गरेर खाने तथा न्यून आय भएकाहरूलाई आवश्यक खाद्यान्न सामग्री खरिद गर्नका लागि सिरानचोक गाउँपालिका, गोरखालाई आर्थिक सहयोग गरेको छ ।विश्वभर फैलिएको कोरोना भाइरसले समग्र विश्वलाई नै प्रभावित पारिरहेको मानवीय विपत्तिको घडीमा कोरोना भाइरसको सम्भावित संक्रमण, रोकथाम र नियन्त्रणका लागि गाउँपालिकाको पहलकदमीलाई साथ दिन फाइनान्सबाट संस्थागत उक्तरदायित्वअन्तर्गत २० हजारको चेक प्रदान गरिएको संस्थाले जनाएको छ ।
संस्थाका शाखा प्रबन्धक दिपक भट्टले सिरानचोक गाउँपालिका प्रमुख राजु गुरुङलाई उक्त चेक प्रदान गरेका हुुन् । संस्थाले नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रही देशका ६१ जिल्लमा एक सय २० शाखा कार्यालयमार्फत लघुवित्तीय सेवा प्रदान गरिरहेको छ । संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा आठ करोड १९ लाख ९५ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो मुनाफा छ करोड १८ लाख ५८ हजार रूपैयाँ रहेको थियो ।
चुक्ता पुँजी ८५ करोड ५१ लाख ४० हजार रूपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ४५ करोड ६१ लाख ८० हजार रूपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब १३ करोड एक लाख १५ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २४ करोड १९ लाख आठ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड १३ लाख ८० हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ८० रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ९६ करोड ४२ हजार रूपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ९९ करोड ४७ लाख ३६ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १५ करोड सात लाख ६८ हजार रूपैयाँ खुुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ८७ दशमलव कर्जा निष्क्रिय रहेको थियो ।