काठमाडौं, वैशाख २४
नेपाल एसबीआई बैंकले ५० लाख रूपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत केन्द्रीय सरकारअन्तर्गत कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको लागि उक्त रकम सहयोग गरेको हो । बैंक सञ्चालक समितिको निर्णयअनुसार बैंकको तर्फबाट बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागरले उक्त रूपैयाँबराबरको चेक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई हस्तान्तरण गरेका हुन् ।
यो समेत गरी बैंकले विश्वव्यापीरूपमा फैलिएको कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणको निम्ति कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष र कोरोनाबाट प्रभावितको सहयोगको लागि जम्मा एक करोड रूपैयाँ सहयोग गरेको छ । यसका साथै बैंकले प्रत्यक प्रदेश सरकारलाई रकम पाँच लाख रूपैयाँको चेक हस्तान्तरण गरिसकेको छ । साथै, बाँकीको १५ लाख रूपैयाँ बैंकले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा विभिन्न वर्ग अति विपन्न व्यक्ति र समुदायमा खर्च गरिरहेको जनाएको छ ।
बैंकद्वारा यस्तै किसिमका सहायता सरकार, आवश्यक व्यक्ति तथा संस्थाहरूलाई बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उपलब्ध गराईरहेको छ । बैंकले वर्तमान प्रतिकूल परिस्थितिमा पनि नेपालभरि विभिन्न शाखाबाट बैंकिङ सेवा प्रधान गर्दै आएको जनाएको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब सात लाख ५१ हजार नौ सय ५६ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यसअवधिमा बैंकको बितरणयोग्य नाफा ७३ करोड ६६ लाख ६६ हजार दुुई सय १२ रूपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब दुुई करोड २७ लाख ९० हजार तीन सय तीन रूपैयाँ रहेको थियो ।
चुक्ता पुँजी आठ अर्ब ४४ करोड ९२ लाख ५० हजार दुुई सय ५३ रूपैयाँ रहेको बैकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा एक खर्ब चार अर्ब ६४ करोड ७२ लाख ८० हजार दुुई सय ९७ रूपैयाँ निक्षेप संकलन गरी ९४ अर्ब २३ करोड ३१ लाख ८१ हजार एक सय १५ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई अर्ब १० करोड १७ लाख ४६ हजार तीन सय १२ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव १७ दशमलव कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ९७ अर्ब ९२ करोड ४४ लाख ४४ हजार तीन रूपैयाँ निक्षेप संकलन गरी ८४ अर्ब ३८ करोड ६३ लाख ३५ हजार छ सय ९९ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई अर्ब १८ करोड ८३ लाख ४७ हजार तीन सय रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव १९ दशमलव कर्जा निष्क्रिय रहेको थियो ।