न्युयोर्क । वरिष्ठ कवियत्री शकुम ज्ञवालीको पाँचौँ कृति ‘खबरमा छु प्रिय’ मुक्तक सङ्ग्रहको शनिबार न्युयोर्कको ज्याक्सन हाइटस्थित नेपाली भान्साघर रेस्टुरेन्टमा एक समारोहको आयोजना गरी भव्य रुपमा विमोचन गरिएको छ । १८२ वटा मुक्तक समाविष्ट उक्त कृतिको विमोचन समारोहमा नेपालबाट अमेरिका आएका नेपाली साहित्यकारहरु एवं अमेरिकाका विभिन्न स्थानबाट आएका साहित्यकारहरुले कवियत्री ज्ञवालीलाई बधाई तथा शुभकामना दिएका थिए । कानुनविद् एवं साहित्यकार विनोद रोक्काको प्रमुख आतिथ्य तथा अनेसास न्युयोर्क च्याप्टरका अध्यक्ष राजन महर्जनको अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रम सञ्चालनको सुरुवात कवियत्री जानुका वस्ती ढकालले गर्नु भएको थियो । स्वागत भाषण कवियत्री लक्ष्मी श्रेष्ठले गर्नुका साथै बाँकी कार्यक्रम सञ्चालन पनि उहाँले नै गर्नुभएको थियो । कवियत्री रश्मी भट्टले विमोचित कृतिको समीक्षा गर्नु भएको थियो । अन्तर्राष्ट्रिय साहित्य नेपाली समाज न्युयोर्क च्याप्टरको आयोजनामा भएको उक्त भव्य कार्यक्रममा च्याप्टरले विभिन्न कवि तथा कवियत्रीहरुलाई सम्मान पनि गरेको थियो । गुल्मी जिल्लाको ग्वादीमा पिता निशाकर ज्ञवाली र माता धनलक्ष्मी ज्ञवालीकी पुत्रीका रुपमा जन्मनु भएकी सकुनले समाज शास्त्रमा एमए र अमेरिकाबाट नेपाल मेडिकल असिस्टेन्ट गर्नु भएको छ । हाल उहाँ अमेरिकाको न्युयोर्कमा बस्नु हुन्छ । उहाँका लोक दोहोरी, तीजका गीत एक दर्जन एल्वम, पालुवा र मञ्जरी कविता सङ्ग्रह, तिमी र म कविता सङ्ग्रह, भन्दिनु है बा ! कविता सङ्ग्रह र खबरमा छु प्रिय ! मुक्तक सङ्ग्रह प्रकाशित छन् । उहाँका थप गजल सङ्ग्रह, कथा सङ्ग्रह र उपन्यास प्रकाशनको तयारीमा छन् । कवियत्री ज्ञवालीले व्यथित काव्य सम्मान, नवरत्न पुरस्कार, रेडिया सफलताद्वारा सम्मान, डायस्पोरा विशिष्ट महिला साहित्य सम्मान (२०१८), अनेसासद्वारा तिमी र म कविता सङ्ग्रहका लागि नव प्रतिभा पुरस्कार (२०१७), अनेसास न्युयोर्क च्याप्टर आयोजित कविता प्रतियोगितामा प्रथम (२०१३ र २०१४), न्युह्याम्पसायर च्याप्टरद्वारा आयोजित कविता प्रतियोगितामा प्रथम (२०१५), अनेसास गण्डकी प्रदेश च्याप्टरद्वारा सम्मान, सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठानद्वारा सम्मान, गुल्मी–अमेरिका समाजद्वारा सम्मान, नारी वाङ्मय प्रतिष्ठानद्वारा सम्मान, अलिमिया लोक वाङ्मय प्रोत्साहन पुरस्कारद्वारा सम्मान, लुुम्बिनी अञ्चलस्तरीय लोक दोहोरी गीत प्रतियोगितामा प्रथमलगायत विभिन्न सङ्घ संस्थाद्वारा दर्जनौँ पुरस्कार तथा सम्मान पाउनुभएको छ । उहाँ लेकनाथ साहित्य प्रतिष्ठानको अजीवन सदस्य, अलिमिया लोक वाङ्मय प्रतिष्ठानको आजीवन सदस्य, सिद्धि सेतुली प्रतिष्ठानको आजीवन सदस्य, सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठानको आजीवन सदस्य, हरिदेवी कोइराला सङ्गीत सम्मान कोशको आजीवन सदस्य, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आजीवन सदस्य तथा अनेसास केन्द्रीय सदस्य हुनुहुन्छ ।