काठमाडौं । कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा बीमा क्षेत्रको योगदान घट्दै गएको देखिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा कम्पनीहरूको पछिल्लो दुई आर्थिक वर्षको बीमा कारोबारसम्बन्धी प्रतिवेदनअनुसार जीडीपीमा बीमा क्षेत्रको योगदान घट्दै गएको देखिएकोे हो ।
प्राधिकरणका अनुसार नेपालमा अहिले सबै किसिमका गरी ३४ वटा बीमा कम्पनीहरू सञ्चालनमा छन् । जसमध्ये १४ वटाले जीवन बीमासम्बन्धी, १४ वटाले निर्जीवन बीमासम्बन्धी, दुईवटाले पुनर्बीमासम्बन्धी र चारवटाले लघुबीमासम्बन्धी कारोबार गर्दै आएका छन् । यसमा पनि बीमा क्षेत्रको प्रमुख हिस्सा मानिएको जीवन र निर्जीवन बीमा कम्पनीहरूको जीडीपीमा योगदान घट्दै गएको हो । कुल गार्हस्थ्य उत्पादनमा कुल बीमाशुल्कको अनुपात शून्य दशमलव दुई प्रतिशतले घटेर आव २०७९/८० तीन दशमलव ४० प्रतिशतमा झरेको छ । आर्थिक वर्ष २०७८/७९ मा यस्तो अनुपात तीन दशमलव ६० प्रतिशत थियो । जीवन बीमा क्षेत्रतर्फको कुल गार्हस्थ्य उत्पादनमा कुल बीमाशुल्कको अनुपात आर्थिक वर्ष २०७९/८०मा शून्य दशमलव १६ प्रतिशतले घटेको छ । यस अवधिमा यस्तो अनुपात दुई दशमलव ६५ प्रतिशत मात्र रहेको छ । आर्थिक वर्ष २०७८/७९ मा भने यस्तो अनुपात दुई दशमलव ८१ प्रतिशत थियो ।
निर्जीवन बीमा कम्पनीहरूको पनि कुल गार्हस्थ्य उत्पादनमा कुल बीमाशुल्कको अनुपात घट्दै गएको छ । आर्थिक वर्ष २०७८/७९ मा शून्य दशमलव ७९ प्रतिशत रहेको यस्तो अनुपात आर्थिक वर्ष २०७९/८० मा शून्य दशमलव शून्य चार प्रतिशतले घटेर शून्य दशमलव ७५ प्रतिशतमा खुम्चिएको छ । प्राधिकरणका अनुसार जीवन बीमा र निर्जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क संकलन रकम भने आर्थिक वर्ष २०७९/८०मा एक खर्ब ८२ अर्ब ९१ करोड रूपैयाँ पुगेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा दुई दशमलव ८७ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा यस्तो रकम एक खर्ब ७७ अर्ब ८१ करोड रूपैयाँ थियो । कुल बीमाशुल्क संकलन रकममध्ये आर्थिक वर्ष २०७९/८० जीवन बीमा कम्पनीहरूको मात्र कुल बीमाशुल्क संकलन रकम एक खर्ब ४२ अर्ब ५७ करोड रूपैयाँ छ । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा दुई दशमलव ८४ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा यस्तो रकम एक खर्ब ३८ अर्ब ६४ करोड रूपैयाँ थियो । प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७९/८० निर्जीवन बीमा कम्पनीहरूको मात्र कुल बीमाशुल्क संकलन रकम ४० अर्ब ३४ करोड रूपैयाँ पुगेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा दुई दशमलव ९८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा यस्तो रकम ३९ अर्ब १७ करोड रूपैयाँ थियो । बीमा क्षेत्रमा प्रत्यक्ष रोजगारी पाउनेको संख्या भने आर्थिक वर्ष २०७९/८० मा ११ हजार चार सय ९६ पुगेको छ । यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा चार दशमलव ६५ प्रतिशतले कम हो । प्राधिकरणका अनुसार अघिल्लो आर्थिक वर्षमा बीमा क्षेत्रमार्फत प्रत्यक्ष रोजगारी पाउनेको कुल संख्या १२ हजार ३१ थियो ।
पछिल्लो अवधिमा बीमा क्षेत्रमा बीमा अभिकर्ता र बीमा सर्भेयरको संख्या पनि घट्दै गएको देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा बीमा अभिकर्ताको कुल संख्या दुई दशमलव ७७ हजार छ सय २६ पुगेको छ । यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा छ दशमलव ३३ प्रतिशतले कम हो । प्राधिकरका अनुसार अघिल्लो आर्थिक वर्षमा अभिकर्ताको कुल संख्या दुई लाख ९६ हजार चार सय तीन रहेको थियो । यसैगरी बीमा सर्भेयरको संख्या पनि एक हजार दुई सय १७ जनामा खुम्चिएको छ । यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा एक दशमलव ८५ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा यस्तो संख्या एक हजार दुई सय ४० रहेको प्राधिकरणको भनाइ छ ।