काठमाडौं । बैकिङ कसुर र ठगी मुद्दामा कैद जरिवाना तोकिई फरार रहेका तीन जना प्रतिवादीहरू पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनका अनुसार बैंकिङ कसुरसम्बन्धी मुद्दाका फरार प्रतिवादीहरू मेनुका पाख्रिन, लाक्पा तामाङ लामा र भीमनाथ ढुंगानालाई पक्राउ गरेको गरिएको हो ।
कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द रेग्मीका अनुसार शशिप्रसाद प्रजापति समेतको छुट्टाछुट्टै जाहेरीले वादी नेपाल सरकार प्रतिवादी मेनुका पहाडी भएको बैंकिङ कसुर (थान–२) मा उच्च अदालत पाटनको विभिन्न मितिको फैसलाले चार लाख पाँच हजार रुपैयाँ जरिवाना, एक दिन कैद र अनिता नायकको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी मेनुका पहाडी भएको ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसलाले छ महिना कैद, छ लाख रुपैयाँ जरिवाना रही फरार रहेकी प्रतिवादी मेनुका पहाडीलाई सोमबार काठमाडौंको कोटेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकी पहाडीलाई सोही दिन फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको प्रवक्ता रेग्मीले जानकारी दिए ।
यसैगरी भगवतप्रसाद पोखरेलको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी भीमनाथ उपाध्याय भएको बैकिङ कसुरसम्बन्धी मुद्दामा प्रतिवादी भीमनाथ उपाध्यायलाई तीन दिन कैद, बिगो सात लाख ७७ हजार आठ सय ९० रुपैयाँ जाहेरवालालाई भराई बिगोबमोजिम सात लाख ७७ हजार आठ सय ९० रुपैयाँ जरिवाना र क्षतिपूर्तिबापत पीडित राहतकोषमा ३१ हजार एक सय १५ रुपैयाँ छ पैसा जम्मा गराउने ठहर भएकोमा प्रतिवादीलाई ठहर भएको कैदभन्दा नौ दिन बढी थुनामा बसेको हुँदा निजलाई लागेको जरिवानाबाट प्रतिदिन तीन सयका दरले हुने रकम २७ सय र निजले धरौटी राखेको एक लाख १५ हजार रुपैयाँ रकम कट्टा गरी बाँकी हुन आउने जरिवाना छ लाख ६० हजार एक सय ९० रुपैंयाँ प्रतिवादीबाट असुल उपर गर्नु भनी मिति २०८० वैशाख २५ गते उच्च अदातल पाटन, ललितपुरबाट फैसला भई फरार रहेका प्रतिवादी उपाध्यायलाई पनि आइतबार कामनपा माछापोखरीबाट पक्राउ गरेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए । पक्राउ परेका उपाध्यायलाई सोही दिन फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत पेस गरिएको उनको भनाइ छ ।