सुर्खेत । बुधबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीयता कार्यान्वयनमा सरकार दृढ रहेको बताएका छन् ।
उनले कानुन बनाउन ढिलाइ हुँदा नागरिकले सङ्घीयताको अनुभूती गर्न नपाएको भन्दै सङ्घीयता कार्यान्वयनका लागि सरकारले काम गरिरहेको बताए । उनले सङ्घीय शिक्षा ऐन संसदमा टेबुल भइसकेको उल्लेख गर्दै सम्बन्धित मन्त्रालयले निजामति र प्रहरीसम्बन्धी विधेयक संसदमा दर्ता गर्ने तयारी गरिरहेको बताए ।
खड्काले सुशासन, विकास निर्माण र देशको समृद्धिका लागि सरकारले देखिने गरी काम गरिरहेको बताए । उनले केही दिनभित्रै सुशासनसम्बन्धी कार्यक्रम घोषणा गर्न लागिएको पनि जानकारी दिए ।
“चीनसँग भएका सहमति र सम्झौता देश हितमा छन्”, उनले भने, “गठबन्धनकै सहमतिमै प्रधानमन्त्रीले सम्झौता गर्नुभएको हो ।” उनले विकास–निर्माणका सन्दर्भमा देखिएका कानुनी अड्चन हटाउन केही नेपाल ऐन संशोधनको प्रक्रिया अघि बढेको बताए ।